काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२३/२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाँडेका हुन् ।
पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।
आइतबारै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा क्रिस्टियन रोमेरोले ११औं मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता बनाएको थियो ।
२६औं मिनेटमा ब्रायन एम्बेउमोले पेनाल्टी सदुपयोग गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काएका थिए । ३६औं मिनेटमा योएने विसाको गोलमा ब्रेन्टफोर्डले पाहुना टिमविरुद्ध २-१ को अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन ।
पहिलो हाफको इन्जुरी समयमा एमेरसन रोयलले गरेको गोलबाट टोटनहम खेलमा फर्किएको थियो । यसपछि थप गोल हुन नसक्दा ब्रेन्टफोर्ड र टोटनहमले अंक बाँडे । पहिलो खेलमै रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया