वरियताक्रम भंग गर्दै सेना, उच्च पदस्थहरुको मिलेमत्तोमा आसेपासेहरुको पदोन्नति !

काठमाडौं । रसुवाका रामचन्द्र तामाङले नेपाली सेनामा सेवा शुरु गरेको १४ वर्ष पूरा भयो । अहिले उनी श्री सुन्दरीजल आर्सनल कार्यालयमा कार्यरत छन् । सिपाही पदबाट सेवा शुरु गरेका उनी यसपालि आफ्नो पदोन्नति हुने कुरामा लगभग ढुक्क थिए । तर, श्री सुन्दरीजल आर्सनल कार्यालयमा यस वर्ष अन्य वर्षभन्दा भिन्न तरिकाले ‘पदोन्नति’ भयो । विगत १ सय १९ वर्षदेखि ‘वरियता  लाई प्राथमिकतामा राखेर पदोन्नति हुँदै आएको भएतापनि यसपटक त्यस्तो नभएको सेनाहरुले बताए ।

वरियता हिसाबले आफू लगायत दिनेश तामाङ, थोप्तेन तामाङ, आत्माराम कार्की र प्रकाश श्रेष्ठ गरी अन्य ५ सेनाहरुको पदोन्नति हुनुपर्ने दाबी गर्छन् रामचन्द्र । यद्यपि, उच्च पदस्थहरुको मिलेमत्तोमा उनीहरुको आसेपासेहरुको पदोन्नति गराइएको आरोप उनी लगायत बढुवा हुन नसकेका सेनाहरुले लगाए ।  

‘वरिष्ठताको हिसाबले हाम्रो पदोन्नति हुनुपर्नेमा जुनियरहरुको प्रमोसन भयो’, उनले गुनासो पोखे, ‘बढुवा हुनेमा कोही उच्च पदस्थको घरमा काम गर्ने छन् कोही उनीहरुको नजिकका मान्छे ।’ 

विगत १ सय १९ वर्षदेखि आफ्नो कार्यालयमा वरियताको हिसाबमा हुँदै आएको पदोन्नति प्रक्रिया यसपालि नअपनाइनुमा उच्च पदाधिकारीहरुको चलखेल भएको गुनासो पदोन्नति नभएका सेनाहरुले पोखेका छन् । भन्छन्, ‘आफ्नो पक्षका व्यक्तिहरुलाई माथि उठाउन यस्तो चलखेल गरियो ।’

मनोमानी ढङ्गले लिइएको परीक्षा

अनुभव र सेनाको सेवामा बिताएको समयका आधारमा पदोन्नति हुनुपर्नेमा यसपटक परीक्षाको आधारमा मात्रै प्रमोसन गराइएको रामचन्द्रले बताए । ‘परीक्षा पनि नियममुताबिक भएन’, उनले भने, ‘परीक्षा अगाडि नै प्रश्न बाहिरियो, नतिजाअनुसार निर्णय भएन ।’

अन्य वर्ष ३० पूर्णाङ्कको हुने उक्त परीक्षामा यसपालि ६० पूर्णाङ्क राखिएको जानकारी सेनाहरुले दिएका छन् । सिनियरहरुले पास हुनलाई ४० अङ्क कटाउनुपर्नेमा त्यसभन्दा बढी अङ्क ल्याउँदा पनि आफूभन्दा कम अङ्क ल्याउने, फेल भएका जुनियर चुनिएको देख्दा आफ्नो मनोबल घटेको गुनासो उनीहरुले पोखे ।

यही आक्रोशमा उनीहरुले सम्बन्धित निकायलाई प्रश्न तेर्साएका छन्, ‘१४ वर्ष गरेको सेवाको परिणाम यही हो त ?’

सङ्कटकालको समयमा सेनामा रहेर सेवा पु-याएका आफूहरु पढाइको आधारमा अहिले भर्ती भएका सेनाजस्तो अब्बल नभएपनि अनुभव र कामको आधारमा उनीहरुभन्दा राम्रो प्रस्तुति दिनसक्ने दाबी उनीहरुले गरेका छन् ।

बढुवा सूची प्रकाशन गर्दै बदर गर्नु शंकास्पद

बढुवा हुने उमेद्वारको सूची पटकपटक प्रकाशन गर्दै बदर गर्नु पनि शंकास्पद भएको सेनाहरुको ठहर छ । पदोन्नतिका निमित्त गठन गरिएको बढुवा समितिले यही माघ २७ गते प्रकाशन गरेको बढुवा उमेदवारको सूचीलाई २ दिनपश्चात बदर गरेर फागुन १ गते केही फेरबदल गरेर पुनः प्रकाशित गरेको रामचन्द्रले खुलाए । 

पदोन्नति भएको १५ दिनभित्रमा त्यससम्बन्धि कुनै आपत्ति भएमा सेनाहरुले निवेदन गर्न पाउने प्रावधान छ । जस अन्तर्गत यस विषयमा छानविन होस् भनेर निवेदन दिएतापनि सम्बन्धित निकायबाट कुनै प्रकारको अनुसन्धान नभएको गुनासो सेनाहरुले गरेका छन् । उचित छानविन गरेर पुनः परीक्षा लिइनुपर्ने माग उनीहरुले राखेका छन् । 

‘आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय सेवालाई समर्पित गर्दा पनि यस्तो अनियमितताको सामना गर्नुपर्दा हाम्रो मनोवल गिरेको छ,’ उनीहरु भन्छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?