बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर बुधवार नेपाल आउँदै

काठमाडौं । बेलायती सशस्त्र बलका राज्यमन्त्री चार दिवसीय भ्रमणका लागि बुधवार नेपाल आउँदै छन् । 

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपाल आउन लागेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको यहाँस्थित बेलायती राजदूतवासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?