नेवार समुदायको विशेष पर्व “गुँला”

नेवार समुदायले चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म १ महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरू भएको हो ।

नेवार समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व पनि हो । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।

गुँला अवधिमा बढी वर्षा भई बाढीपहिरो, भूक्षय, अतिवृष्टि, रोगव्याधी फैलिने भएकाले सबै जनताको कल्याण होस्, कसैलाई रोगव्याधी नलागोस्, दुःख कष्ट नहोस्, भूक्षय, बाढीपहिरोबाट जनधनको क्षति नहोस् भन्दै बाजागाजा बजाउंदै सुभकामना सहितस्वयम्भु महाचैत्य, दिपङ्कर बुद्ध, तारा तथा क्वापा: द्य:को साथसाथै बौद्ध, साँखुमा रहेको पद्मगिरी धर्मधानु महाविहार (गुँविहार), उग्रतारा, खड्गयोगिनी, काभ्रेको नमोबुद्ध, बुङ्गगमतीको करुणामय, बाँडेगाउँमा रहेको बुद्धको समेत दर्शन गर्ने चलन रहीआएको छ ।

नेपालभाषामा ‘गुँ ‘को अर्थ नौ र ‘ल्हा’ को अर्थ महिना , हुने भएकोले प्राय: मानिसहरु गुँला नवौं महिना हो भनेर झुक्किने गर्दछन्। नेपाल संवत्अनुसार दशौं महिनालाई गुँला भनिन्छ ।  नेवारी शब्द गुँलाको अर्थ मङ्गलसूचक पर्व पनि हो। आज भन्दा २५०० सय वर्षअघि गौतम बुद्धले यसै महिनामा बुद्धत्व प्राप्त गरेको जनविश्वास रहेको छ।

गुँला पर्व  अवधिभर बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्य लगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् ।  धार्मिक दृष्टिकोणले यस पर्वसँगै नागपञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् । गुँला पर्व भरी काठमाडौका मुख्यत ३२ टोलबाट विभिन्न बाजागाजा सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ। यस बखत विशेष गरि गुँला बाजा बजाइन्छ, अर्थात् धाँ बाजा बजाइन्छ। यस महिनामा पर्ने विभिन्न तिथीहरुमा काठमाडौबाट मात्र नभइ उपत्यकाको विभिन्न ठाउँबाट पनि बाजा सहित स्वयम्भू दर्शन गर्न आउने प्रचलन रहेको पाइन्छ। गुँला बेला धाँ बाजा सहित मुहाली, न्यकु ( सिङ्गबाट बजाइने एक किसिमको बाजा) आदि पनि बजाउने गरिन्छ। यसै गरि ज्यापू समुदायले भने धिमे बाजा र दाफा बजाउने गर्दछन्। यसरी स्वयम्भूको दर्शन गरिसकेपछी, बिजेस्वरी सेतो मछिन्द्रनाथको पनि दर्शन गर्नुपर्ने मान्यता रहेको पाइन्छ।

गुँला धर्मको अविधिमा मनाइने एक मुख्य पर्व पञ्चदान पर्वमा बज्राचार्य तथा शाक्य समुदायका व्यक्तिहरुले दान लिने गर्दछन्। यस पर्वमा धान, चामल, गहुँ, केराउ, मकै, नुन, पैसा, फलफूल आदि दान गरिन्छ। उपत्यकाको तीनै शहरमा यो पर्व मनाइएता पनि ठाउँ अनुसार फरक दिनमा मनाइने गरिन्छ। काठमाडौमा स्वयम्भूमा “छायाँ हेर्ने रात” पनि यहि गुँलाकै अविधिमा हुने गर्दछ। यसै गरि गुँला अविधिमा मनाइने अर्को पर्व भनेको “बहि द्य: ब्वयेगु” हो। यो पर्व गुँलाथ्व पुन्हीको (जनै पुर्णिमा/ क्वाती पुन्ही) भोलिपल्टबाट ३ देखि ८ दिन सम्म मनाइन्छ। यस अवसरमा विभिन्न बहालमा अरु बेला नदेखिने गरि राखिने दिपंकर बुद्धका ठूला मुर्तिहरु, विभिन्न देवी देवताका मुर्तिहरु, पौभा तथा थाङ्का चित्रहरु र हस्तलिखित ग्रन्थहरु सर्वसाधारणलाई अवलोकन र दर्शन गर्नका लागि राखिन्छ। यसरी राखिएको मुर्तिहरु दर्शन गर्न विभिन्न समुदायबाट बाजागाजा सहित जाने गरिन्छ भने यसको दर्शन गर्न प्रत्यक्ष देवी श्री कुमारी माजुलाई पनि लाने गरिन्छ। यस बेलामा विशेषतः काठमाडौको भग्वानबहालमा सुनको अक्षरले लेखिएको “सतसहस्रिका प्रज्ञापारमिता” र इतुमबहालमा सुनको अक्षरले लेखिएको “अष्टसहस्रिका प्रज्ञापारमिता” पनि दर्शनको लागि राखिन्छ। जनश्रुती अनुसार यी पुस्तकको दर्शन गरेमा स्वर्ग जाने बाटो खुल्ने विश्वास गरिन्छ।

किम्बदन्ती

स्वयम्भु महाचैत्य प्रतिस्थापन भएको ९ महिना पछि देखि यो मेला सुरु भएको भनाइ रहेको छ । किम्बदन्ती अनुसार १२ महिना मध्ये एक महिना प्राणीको रक्षा गर्न भगवानले जिम्मा नलिएपछि सम्पूर्ण प्राणी जगतले खान पाएनन् । श्रावण भाद्र महिनामा अत्याधिक पानी पर्ने गर्मी बढी हुने हुनाले रोगव्याधीको प्रकोप बढ्न गई प्राणीहरू धेरै मर्ने गरेकाले एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान बुद्धले लिए र जमिनबाट कर्कलो निकालेर जनतालाई भोजन गराएको र भोकमरीबाट बचाएको कथा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?