बङ्लादेशका २० हजार साइट बन्द

ढाका– बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ ।

अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो ।

“मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने ।

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए ।

बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् ।

दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए ।  

अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?