कोटेश्वर–कलङ्की सडक : बाहिरि लेनको निर्माण कार्य आधा सकियो

काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरि लेन ‘सर्भिस ट्रयाक’ निर्माण आधा सकिएको छ ।

 दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरि लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । 

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “चाँडो काम सक्न लागि परेका छौँ ।” 

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताए ।

अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो ।

उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । उनले भने “चालकले सर्भिस ट्रयाकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?