सुदूरपश्चिम प्रदेशको ३२ स्थानमा खेल मैदान निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेल मैदान निर्माण तथा सुधार गरिने भएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । 

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा ६ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए । 

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई÷दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अछामका चार ठाउँमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । चार प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने जानकारी आफुहरुले पाएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिए । 

उनले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ मा बडासैन खेलमैदान रिडीकोट–२ को थालाकोट खेलमैदान कालिका तथा क्षेत्र नं २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रवल सम्भावना रहेको बताए ।  

क्षेत्र नं २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुन सक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेलमैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?