निस्ट र रेडन कलेजको मनपरी : महानगरको छात्रवृत्ति पाएका विद्यार्थीसँग असुल्दै शुल्क (भिडियोसहित)

काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेशनल स्कुल अफ साइन्स (निस्ट) कलेजले छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट धमाधम भर्ना शुल्क उठाइरहेको पाइएको छ ।

काठमाडौं महानगरले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामार्फत छनोट भएका विद्यार्थीहरुबाट निस्टले भर्नाबापत पाँच हजार रुपैयाँका दरले उठाएको पाइएको हो ।

महानगरले गत साउन २० गते कक्षा ११ का विद्यार्थीहरुको छात्रवृत्तिका लागि परीक्षा लिएको थियो । त्यसअन्तर्गत काठमाडौं महानगर वडा नं १६ मा पर्ने निस्ट कलेजमा विज्ञानका लागि ६० जना, व्यवस्थापनमा ८ जना गरी ६८ जना विद्यार्थीका लागि छात्रवृत्तिको कोटा छुट्टाएको थियो ।

हेर्नुहोस् भर्नाको रसिद :

महानगरका अनुुसार छात्रवृत्तिमा नाम निस्किएका विद्यार्थीहरुबाट कलेजले भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै पनि धरौटी र लाइब्रेरी तथा ल्याब साथै अन्य कुनै पनि शुल्कहरु लिन पाउँदैनन् ।

केही कलेजहरुले शुल्क मागेपछि महानगरले साउन २९ गते एक सार्वजनिक सूचना जारी गर्दै छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट कुनै पनि शुुल्क नलिन निर्देशन दिएको थियो । त्यसको साथै महानगरले पटकपटक कुनै पनि शुुल्क नलिन सूचित गर्दै आएको छ । तर, केही कलेजले भने धमाधम भर्नाका नाममा विद्यार्थीबाट शुल्क लिइरहेका छन् ।

‘कतिपय शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएका विद्यार्थीबाट भर्ना शुल्क माग गरेको भन्ने गुनासो प्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘छात्रवृत्ति भन्नाले कक्षा एघार र बाह्रमा विद्यार्थीले शिक्षण संस्थालाई शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याब÷पुुस्तकालयबापत शुल्क तिर्नुु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनुपर्दछ ।’

तर, निजी कलेजहरुले भने महानगरको निर्देशनलाई लत्याउँदै भर्नाबापतको शुल्क लिइरहेका छन । त्यतिमात्र होइन, महानगरले भनेका शुल्क नलिने भने पनि निस्टले वार्षिक शुल्कका नाममा साइन्स र व्यवस्थापनका लागि छुट्टै शुल्क समेत तोकेको छ । जसमा विद्यार्थीहरुको शुरुमा विद्यार्थीहरुको रजिस्ट्रेसन, आइडी कार्ड, विभिन्न शैक्षिक सामग्री, परीक्षा शुल्क लगायत अन्य शुल्कको नाममा २५ देखी ३० हजारसम्म लिनेगरी निस्टले शुल्क निर्धारण गरेको कलेजका सुपरभाइजर प्रभात रिसाल बताउँछन् ।

महानगरले छात्रवृत्ति पाएका विद्यार्थीबाट ल्याब फि, लाइब्रेरि फी समेत नलिन भनेको छ तर निस्टले कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरुलाई कम्युुटर ल्याबको फि समेत दिनुुपर्ने उर्दी दिएको केही अभिभावकले गुनासो गरेका छन् ।

त्यस्तै निस्ट कलेजको व्यवस्थापन तर्फकी कोअर्डिनेटर जुनु पाख्रिनले पनि कलेजको आफ्नै समस्याका कारण केही शुल्कहरु लिनै पर्ने बताएको एक अभिभावकले लोकपथलाई जानकारी दिए । यसअघि पनि वडाले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यार्थीहरुबाट २८ हजार रुपैयाँसम्म लिएको समेत उनले बताएको ती अभिभावकले सुनाए ।

छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट रकम अशुुल्ने कलेजमा निस्ट मात्र होइन अन्य कलेजहरु पनि रहेका छन् । काठमाडौंको सामाखुसीमा रहेको रेडन कलेजले पनि विद्यार्थीहरुबाट भर्ना हुनु अगावै ५००० हजार लिएको पाइएको छ । भर्ना हुन पुुगेका एक विद्यार्थीलाई निस्टले जस्तै भर्नाका लागि केही रकम बुुझाउनुुपर्ने भन्दै एउटा ब्याग दिँदै अन्य मेटेरियल पछि दिने भन्दै पैसा असुली गरेको पाइएको छ ।

हेर्नुहोस् झोला र रसिद :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सचिवालय सदस्य सस्मित पोखरेलले महानगरको छात्रवृत्तिमा छनोट भएका विद्यार्थीबाट कलेजले कुुनै पनि शुुल्क लिन नपाउने लोकपथलाई जानकारी दिए । केही कलेजहरुले शुुल्क लिएको गुनासो आएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘निस्ट लगायत केही कलेजहरुले छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट शुुल्क उठाएको गुनासाहरु आएका छन् । हामी बुुझ्छौँ र आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौंँ ।’ उनले भने ।

छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट कस्ता–कस्ता शुुल्क कलेजले लिन पाउँछन् भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘छात्रवृत्ति भन्ने बित्तिकै त्यसमा धेरै शुुल्कहरु हुँदैनन् । महानगरको छात्रवृत्ति अनुसार कुनै पनि शुल्क लिन पाइनेछैन । यात्रायात खर्च, ड्रेस खर्च बाह्य खर्च भयो । त्यसमा हस्तक्षेप गर्न हुुन्न तर अन्य शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएमा कारबाही हुन्छ ।’ उनले भने ।

महानगरले पहिलोपटक परीक्षा नै लिएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो । शिक्षा क्षेत्रको सुधारका लागि लागिरहेको महानगरको उक्त कदमले विद्यार्थी र तिनका अभिभावकबाट अनावश्यक पैसा असुलिरहेका निजी कलेज सञ्चालकहरुको निद हराम भएको छ ।

एउटा मापदण्डमा भर्ना गर्ने र अन्तिमसम्म विभिन्न बहानामा पैसा असुल्ने गरेको गुनासाहरु आइरहेका छन् । निजी शैक्षिक संस्थाको मनपरीलाई चिर्न महानगरले केही कदम चाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?