निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको गृहमन्त्रीद्वारा स्वीकार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको बताएका छन् । 

बुधवार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी दायरामा पल्याएको दाबी गरेका छन् । 

उनले भने, ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयासरत छौं ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गर्दै उनले भने, ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपथ्र्यो । तर, यसमा सफल भएका छैनौं ।’ 

‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउन सफल हुने छौँ’ गृहमन्त्री थापाले भने । 

यसैगरी निर्मला घटनाको अनुसन्धानमा प्रहरी अधिकारीले गम्भीर लापरबाही गरेको र प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।

यसको जवाफमा मन्त्री थापाले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने पनि बताए । 

साढे ३३ किलोको सुन तस्करी भएको ठूलो सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको गृहमन्त्रीको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?