काठमाडौं । छनोट समितीले अबदेखि राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को सदस्य सचिवको सिफारिस गर्ने भएको छ ।
अहिलेसम्म खेलकुद परिषद्को सदस्यसचिव सत्तारुढ दलको कार्यकर्ता भर्ती गर्ने अखडा जस्तै बनेको छ । खेलकुद मन्त्रालय जुन दलको भागमा पर्छ, त्यही दलका कार्यकर्ता सदस्य सचिव हुने चलन पहिलेदेखि नै चल्दै आइरहेको थियो ।
तर, संसदमा दर्ता भएको ऐन पारित भयो भने खेलकुद परिषद्को सदस्य सचिव नियुक्ति एक हदसम्म पारदर्शी हुनेछ । युवा तथा खेलकु्द मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेको ‘खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा राष्ट्रिय खेलकुद परिषद् गठनमा नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकअनुसार सदस्य सचिव छनोटका लागि मन्त्रालयका सचिव र दुई जना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिनेछ । समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्ये एकलाई मन्त्रिपरिषद्ले चयन गर्नेछ ।
खेलकुद परिषद्को सदस्य सचिव बन्न स्नातक तह उतिर्ण खेलकुद क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको सकेको हुनुपर्ने प्रावधान राखिएको छ । सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । त्यस्तै थप एक कार्यकाल नियुक्त गर्न सकिने व्यवस्था छ ।
खेलकुदमन्त्री अध्यक्ष रहने खेलकुद परिषद्को ४१ सदस्यीय हुनेछ । उपाध्यक्ष खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु-याएका मध्येबाट एक जना नियुक्त गरिने प्रावधान विधेयकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया