च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित, युभेन्ट्स एथ्लेटिको म्याड्रिडसँग स्तब्ध

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटी जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत प्रि-क्वाटरफाइनलको खेलमा विजयी भएको छ । 

पाहुना टोली सिटीले बुधवार राति सम्पन्न भएको अन्तिम १६ को पहिलो लेगको खेलमा शाल्केलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १८ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि सर्जियो अग्युरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै खेलको ३८ औँ मिनेटमा शाल्केले पेनाल्टी हान्ने मौका पायो । यो अवसरलाई शाल्केका बेन्टालेबले सदुपयोग गर्दै गोल पोष्टको जाली चुमाए ।

पहिलो हाफ सकिनै लाग्दा पुनः बेन्टालेभले पेनाल्टीबाट अर्को गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । पहिलो हाफसम्म २-१ गोलले पछि परेको सिटीका ६८ औँ मिनेटमा १० खेलाडीमा सिमित भयो ।

निकोलस ओटामेन्डी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी थप तनाव बेहोर्रेको थियो । तर, खेलमा थप सुधार गर्दै ८५ औँ मिनेटमा लोरी सानेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा रहिम स्ट्रलिङले गोल गरेपछि सिटीले संघर्षपूर्ण जित निकालेको हो । जितपछि सिटीले लिगको अन्तिम आठमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । 

त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स स्पेनी क्लब एथ्लेटिको म्याड्रिडसँग २-० गोल अन्तरले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

खेलको ७८ औँ मिनेटमा जोसे जिमिनेजले तथा ८३ औँ मिनेटमा कप्तान डिएगो गोडिनले समान एक-एक गोल गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?