भारतीय कम्पनीले ६२ करोडमा किन्यो सौर्य एयरलाइन्स

काठमाडौं । सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा बिक्री भएको छ । 

विमानस्थल प्रयोग गरेबापतको शुल्क नतिरेपछि ग्राउन्डेड गरिएको सौर्य एयरलाइन्स अन्ततः ६२ करोड रुपैयाँमा बिक्री गरेको हो । गत पुस २० गतेदेखि उडान बन्द भएको सौर्य एयरलाइन्सलाई भारतीय कुबेर समूहको क्लव वान कम्पनीले खरिद गरेको जनाएको छ । 

यसअघि यो एयरलाइन्सले चिनिया कम्पनीसँग बिक्री प्रक्रिया बढाएको थियो । तर, चिनको कम्पनीसँग कुरा नमिलेको भन्दै भारतीय कम्पनीलाई विमान बिक्री गरिएको हो । 

भारतीय कम्पनीले नेपाली व्यवसायीसँग साझेदारीमा कम्पनी खरिद गरेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले बताए । उनका अनुसार बिक्री प्रक्रियाको आवश्यक दस्तावेजमा हस्ताक्षर भइसकेको छ। रकम भुक्तानी बाँकी छ।

चार वर्षअगाडि जेट इन्जिन विमानबाट आन्तरिक उडान थालेको यो कम्पनीले बजार विस्तार गर्न नसक्दा आर्थिक संकट भोग्दै आएको थियो।

यससँग दुईवटा विमान छन्। ऋण चुक्ता नगरेको भन्दै गत पुस २७ मा सौर्य एयरलाइन्सको नाममा जनता बैंकले रकम भुक्तानीका लागि ३५ दिने सूचनासमेत प्रकाशित गरेको थियो। नोक्सानी बढ्दै जाँदा कर्मचारीलाई तलब समेत खुवाउन सकिरहेको थिएन।

कम्पनीले सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा नियमित उडान गर्दै आएको थियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापतको बक्यौता नतिरेपछि विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले विमान ग्राउन्डेड गराएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?