विवादपछि नेकपाको कार्यदल भंग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । 

शुक्रवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेपछि सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग भएको हो । 

यो सँगै अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटिमा पेश गर्नेछ ।

बिहीवार बसेको सचिवालय बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले पशे गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । 

तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेको थियो । 

आजको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लापथ धन्यवाद दिने निर्णय गरेको बताए । 

अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको उनले बताए । 

गत मंसिर २९ गतेदेखि शुरु भएको नेकपाको स्थायी कमिटिको बैठक पुस १४ गतेसम्पन्न भएको थियो । 

स्थायी कमिटि बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्तसम्म सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेल नेतृत्वको ९ सदस्य कार्यदल गठन गरेको थियो । 

कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका थिए । 

पटक–पटक म्याद थप्दा पनि कार्यदलले अन्तिम प्रतिवेदन दिन नसकेपछि नेकपामा तल्लो कमिटिको एकता प्रक्रिया अन्योलमा पर्दै गएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?