काठमाडाैं । आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभर घटाइएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर निर्धारत १८ ओभरमा ८३ रन बनाएको हो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै पेभिलीयन फर्किइन् ।
ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजोल र इन्दुले २५ रनको साझेदारी गरे ।
त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।
कविता कुँवर १, सम्झाना खड्का २ रन बनाए । कविता जोशी र बिन्दु रावल १ रनमा अविजित रहे।
मलेसियाका लागि एना हमिजा हशीम, माहिरा इज्जती इस्मेल र नुर दनिया सुहादाले समान २–२ विकेट लिए भने एइसा इलीश फिर्दुशले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया