साँझको ५ बजे अफिसको काम सकाएर कार्यालयबाट निस्किएँ म । गाडी चढ्न रत्नपार्क पुगेँ । सबैतिरको गाडी चढ्ने ‘थलो’ हो रत्नपार्क । सधै भिड, हिजो पनि त्यस्तै थियो ।
सधै बस हुने स्थानमा बस थिएन । तर निरास हुनुपर्ने मैले कारण भेटिन्, किनभने यस्ता विरक्तलाग्दा थुप्रै क्षण भोगेको छु, ती गनिसाध्य र भनिसाध्य छैन । रत्नपार्कमा बस भएन भने एउटा मात्र विकल्प हुन्छ, लगनखेलको बस पार्क जाने ।
अन्य मानिसहरु पनि बसको पर्खाइमा बसेका थिए । धेरै त परिचत अनुहारहरुनै थिए, ‘अन्नोन फ्रेन्ड’ ।
बस आउने पक्का नभएपनि बस पर्खने निर्णय हामी सबैले गरेका थियौं । धुलो उडाउँदै गाडी आउँथ्यो । गाडी रोकिन नपाउँदै मानिसहरु दौडिएर चढिसक्थे । कति पटक त भित्रको यात्रुहरु झर्ने नपाउँदै प्याक हुन्थ्यो । अरु रुटहरुको गाडी देख्दा मेरो पनि आँखा बाहिर सडकमा पटक पटक गइरहन्थयो ।
एकजना महिलालाई मैले सोधे, “चापागाँउको बस कुर्नू भएको हो ?”
उनले हो भनिन् ।
सँगै जाने अरु नि छ भन्ने उत्साहमा मैले अर्को प्रश्न तेर्साए “कति बजेबाट गाडी कुर्नु भएको ?”
उनको १० मिनेट भएको उत्तर आउँदा घडिको सुई ५ः२० मा थियो ।
‘ए’ भनेर मैले संवाद टुङ्गाए ।
वरिपरिका मानिसहरुले जति पटक बस आउँदैन कि के हो ? भनेर एक आपस्मा कुरा गर्दा पनि मनमा आँधी चल्थ्यो, आजको बास कतै बसपार्कमा नै त होइन जस्तो पनि लाग्थ्यो ।
बस नआउने लगभग ‘कन्फर्म’ भएपछि ‘क्रस चेक’ गर्न एउटा साथीलाई सोध्न लगाए ।
सबैको ध्यान म तिर तानियो ।
फोनको घण्टी बज्यो । उताबाट जवाफ आयो, “बस त बसपार्क नआई बीच बाटोबाट फर्काएछ । लेलेको बसमा आउ अब ।”
सबैको अनुहारमा घर पुग्न अबेर भइरहेको र गाडी छ्ट्छ कि भन्ने डर थियो । एक अर्काको मन भित्रको आक्रोस र पिडा हामी महसुश गर्न सक्थ्यौं । विकल्पको खोजीमा बसपार्कबाट माइक्रोे पार्कतर्फ अघि बढ्यौं । मसँग रातो कुर्था लगाउन एक युवती पनि थिइन् ।
बाटोमा हिड्दै गर्दा उनले भनिन्, “जहिले पनि दुःख दिन्छ यो बसले ! कहिले हुँदैहुँदैन्, कहिले मान्छे छैन भनेर रत्नपार्क सम्म आउँदैन् मनलाग्दी छ यिनीहरुको ।”
उनको आक्रोस जायज पनि थियो ।
यात्रुहरुको सहजताको लागि सेवा दिन भनेर गुडाइएका सार्वजनिक यातायातले मनलाग्दी गर्द यात्रुहरु दिनहुँ समस्यामा झेल्दै आएका उदाहरणहरु हामीले देखेका, भोगेका र सुनेका छौं । मैले फेरी सोधे कहाँबाट बस फर्कायो र दिदी ?
“कुपण्डोलबाट फर्काउँछ बिहान/बिहान मान्छेहरु छैन भन्दै ढिलो भएको बेलामा जहिले त्यस्तै गर्छ,” उनको आवाजमा म चर्को विद्रोह र क्रोध महशुस गर्न सक्थे ।
माइक्रो पार्क पुगेर लास्ट सिटमा हामीसँगै बस्यौं ।
उनले आफ्नो नाम क्रिष्टी महर्जन भएको बताइन् ।
उनको घर चापागाँउ रहेछ ।
कमलपोखरी मन्टेश्वरीमा उनी कार्यरत रहेछिन् । मैले जिज्ञासु भावमा प्रश्न गरे, यति टाढा ?
उनले मुस्कुराउँदै भनिन् “आफ्नो ठाउँमा काम गर्न मलाई मन लागेन ।”
सिंहदरबारको जाममा हामीले धेरै कुरा गर्यौ । उनले आफूले भोगेका समस्याहरु मलाई बताइन् मैले आफ्नो बसको अनुभव उनलाई सुनाए ।
बेलुका बस चढ्ने मानिसहरु छैन भनेर रत्नपार्क बस नआउँदा दैनिक सयौँ मानिसहरु अल्मलिनु पर्ने अवस्था छ । युवायुवतीलाई खासै फरक नर्पला तर वृद्धवृद्धा, शारिरीक रुपमा अश्क्त भएकाहरु निकै प्रभावित भइरहेका छन् ।
हामी एक अर्काको कुराहरु ध्यान दिएर सुनिरहेका थियौं किनभने अफिस आउँदा होस् या जाँदा गाडी चढ्न सधै ‘सकस’ पर्ने हाम्रो समस्या साझा थियो । कार्यालयमा ढिलो पुगेको अनुभव त मसँग प्रशस्तै थिए ।
लगनखेल पुगेर हामीले एकअर्कोलाई ‘बाई’ भनेर हात हल्यायौं अनि छुटियौं ।
महर्जनलाई पहिला देखेको भएपनि हाम्रो परिचय भने “बसमा सँगै पर्छौ” मा मात्र सिमित थियो तर हिजोबाट हामी एक अर्काको मित्र भएका छौं ।
हाम्रो मित्रता समस्याले गाँस्यो ।
क्रिष्टी र मैले ६.८ किलोमिटरको यात्रा सँगै गरेका थियौं । लगनखेलबाटे टिकाभैरवसँगको ११ किलोमिटरको यात्रामा मैले उनकै बारेमा सोँचे।
समयमा गाडी नआउने, आएपनि मनलाग्दी रुट फेरेर परिवर्तन गरेर चलाउने, ढिलो गरी गन्तव्य पुर्याउने जस्ता समस्याले गाँजिएका हामी पछिल्लो दिन जाम पनि थपिँदा कति गाह्रो छ मैले सम्झिए ।
हिजोसम्म एकअर्कोसँग परिचय नभएका हामी सायद आज भेट्दा मुस्कुराउँछौं होला । एउटै सिटमा नबसे पनि के छ हालखबर? भनेर सोध्छौं होला कुरा गर्ने समय छैन भने पनि ‘हाई’ सम्म भन्छौं होला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया