हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावहीन

फिदिम । पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको पाइएको छ । 

पाँचथरमा विसं २०६८ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालित छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सातै चरणमा औषधि खान उपयुक्त समूहमध्ये करीब एक तिहाइले औषधि सेवन गरेका छैनन् । औषधि सेवन गर्नेको सङ्ख्या क्रमशः घटिरहेको कार्यालयको तथ्याङ्क छ । 

कार्यालयका अनुसार विसं २०६८ सालमा यहाँका ६५.७ प्रतिशत व्यक्तिले औषधि सेवन गरेका थिए । विसं २०६९ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत, २०७० मा ७१ प्रतिशत तथा २०७१ र ०७२ मा ७५ प्रतिशत पुगेको थियो । तर, २०७३ सालमा उक्त सङ्ख्या घटेर ७२.२ प्रतिशतमा झर्यो । गत वर्ष ७०.६ प्रतिशतले मात्रै औषधि सेवन गरेको कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले जानकारी दिए । 

गत वर्ष कार्यालयले एक लाख ६७ हजार ३७० जना जिल्लावासीलाई औषधि खुवाउने लक्ष्य राखेको थियो । तर, निर्धारित बुथमा ८० हजार ५ सय ३४ जना मात्रै उपस्थित भएर औषधि सेवन गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंसेवकहरुले ३६ हजार २ सय ५ जनालाई घरैमा पुगेर औषधि सेवन गराएका थिए । गत वर्ष औषधि सेवन गर्न उपयुक्त व्यक्तिमध्ये ५० हजार ६३१ जनाले औषधि सेवन गरेनन् । 
औषधि सेवन गर्नेहरुको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर प्रसाईँ हात्तीपाइले रोगको असरबारे पर्याप्त जानकारी सर्वसाधारणमाझ पु¥याउन नसक्दा औषधि सेवन गर्नेको सङ्ख्या सन्तोषजनक हुन नसकेको बताए । “हात्तीपाइले रोगलाई सामान्यरूपमा लिई औषधि सेवन गर्न अनिच्छा देखाउँदा तथा यो रोगका असरहरुबारे पूर्ण जानकारी दिन नसक्दा अभियान पूर्णरूपमा सफल हुन सकेन” प्रसाईँले भने । 

स्वास्थ्य शिक्षा प्रशिक्षक तुम्बापो हात्तीपाइले रोग विरुद्धको औषधिका विषयमा रहेका भ्रमहरु चिर्न नसक्दा समेत औषधि सेवन गर्नेको सङ्ख्या कम भएको बताए । “प्रत्येक वर्ष सार्वजनिक स्थानमा जिल्लाका विशिष्ट व्यक्तिहरुबाट औषधि सेवन गरी अभियान चलाइएपनि सेवन गर्नेको सङ्ख्या कमै रहने गरेको छ” तुम्बापोले भने । 

कार्यालयका स्वास्थ्य सहायक उमेश मेहताका अनुसार औषधि सेवनको अभियान पछि पनि रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीहरुको सङ्ख्या उल्लेख्य रहने गरेको छ । छैटौँ चरणसम्म अभियान सम्पन्न गरेपश्चात उक्त रोगको सङ्क्रमणबारे यहाँ स्वास्थ्य परीक्षण आयोजना गरिएको थियो । स्वास्थ्य परीक्षणबाट रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या उल्लेख्य पाइएको उनको भनाइ छ । मेहताका अनुसार जिल्ला सदरमुकाम फिदिममा ३ सय ६५ जनाको स्वास्थ्य परीक्षण गर्दा सात जना र थर्पुमा एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा यो रोगको लक्षण देखिएको थियो । 

एक व्यक्तिले नियमितरूपमा छ वर्षसम्म वर्षको एक पटक औषधि सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने तथा भावी दिनमा उक्त रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीहरुको भनाइ छ । सातौँ चरणसम्म औषधि सेवन गराउने अभियान सम्पन्न भएको पाँचथरमा यही फागुन १५ गतेबाट तीन दिनसम्म आठौँ चरणमा औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रसाईले जानकारी दिए । यस वर्ष पाँचथरमा एक लाख ८३ हजार ६८९ जनालाई औषधि सेवन गराउने लक्ष्य कार्यालयले लिएको छ । यसका लागि स्थानीय तहस्थित स्वास्थ्य शाखाहरूले तयारी अघि बढाएका छन् । 

क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले रोग मानिसमा सर्दछ । यो रोगको पूर्ण लक्षण देखा पर्न नौ देखि १५ वर्षसम्म समय लाग्दछ । मानिसमा पूर्ण सङ्क्रमण भएपछि यो रोग निको नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?