अस्तित्व !

अस्तित्व ! आफ्नै संकटग्रस्त अस्तित्वको सीमान्त बिन्दुमा आएको र रित्तो रित्तो भएको बगैंचा जस्तै जिन्दगीका पानाहरुमा दुश्मनहरुसँग सजग हुँदाहुँदै आफ्नैहरुले आफैविरुद्ध गरेको घात सम्झिदा लाग्छ यो देश नेपाल साँचिक्कै पुरुष प्रधान देश हो । र अझै धेरै वर्षहरु यसरी नै बित्नेछ । 

यसो हेर्दा त देशको परिस्थिति अनि बदलिदो समाजसँगै समाज भित्रका मान्छेपनि बदलिनु कुनै नौलो कुरा भने होइन । तर, बदलिनु भन्दैमा अति गर्नु पनी नहुने हो । 

उदासीको कारण बाहिर छ वा आफूभित्रै छ, स्पष्ट हुनै गाह्रो ।

सायद हामीले भोगेको देखेको दुनियाँभन्दा बाहिर पनि अर्को दुनियाँ छ भनेर सोध्नुलाई प्रगतिशिल सोच मान्नुपर्छ । म आफैँ एक नारी हुँ र नारी भएर बाँच्न कति गाह्रो छ म आफैँले भोगेको कुरा नै हो ।

विभिन्न जिम्मेवारीमा हुने नारीरुपहरुको अनुभव, असन्तुष्टि र विद्रोहको अभिव्यक्तिसहित आफ्नो अस्तित्वको खोजीमा लागि परेको छु । म सोच्छु किन ? कहिलेसम्म पीडा सहेर बस्ने । सोच्छु र आफूले गरेको प्रश्नले आफैँलाई लखेट्छ । जिन्दगी आफ्नै हातबाट, हरफबाट र सपनाबाट छुटेको महसुस हुन्छ । 

तर, पनि म चुनौती दिन्छु र दिने छु आम नारीहरुमा पुरुषले गर्ने निर्मम क्रियाकलाप प्रति । 

मै हुँ भन्ने पुरुष रोक्न सक्छौ भने रोकेर देखाओ । 

आम नारीहरु अब हामी एक हुनुपर्छ र उत्रनु पर्छ अनैतिक क्रियाकलाप गर्ने पुरुषको विरोधमा । हामीमा साहस छ, धैर्यता छ र एउटा समाज परिवर्तन गर्ने अठोट छ भने हामीलाई रोक्ने कसले ?

नारीका लागि यो समाज कहीले उपयुक्त हुन सकेन । कतै बलात्कार, हत्या, यौन जन्य हिंसा बढेसँगै यो समाज नारीको लागि चुनौती बन्दै गएको छ । मलाई थाहा थियो समाचारका हरफजसरी बहेका यी शब्दले स्वयम् मलाई पनि सचेत हुन अनुरोध गरिरहेको थियो । 

पश्चिम मुलुकमा देश चलाउने ल्याकत राख्छन् नारीहरु हामीचाहि कहिलेसम्म आफ्नो खप्पर ठोक्दै बस्ने ? म पनि क्रान्ति चाहन्थे । महिला मुक्तिको । 

भनिन्छ नारी एक प्रकृति हुन् । एक मनमोहक द्रष्टा हुन् । नारीलाई सम्मान गर्न नसक्ने घर घर होइन र समाज समाज होइन ।  

अपमान र घृणाको प्रतिकार गर्न नचाहेको होइन हामीले तर, अंकुश लगाएको छ, बर्जित गरेको छ, समाजले १ ‘छोरीले धेरै बोल्नु हुन्न, त्यसैले त म निःशब्द छु । अनेक अन्याय र अत्याचार र आक्रोश मनमा नै दबाएकी छु । थाहा नभएको होइन मलाई । छोरीको चरित्रमाथि शंका गर्ने समाजले छोराको कुकर्म र चरित्रबारे कहिल्यै आवाज उठाएन ।’

दायित्व उठाउने काँध एकै होइन, दुःखका आँसु, सुखका हाँसोको रंग एकै हो र पनि समाजले किन खडा गर्छ विभेदको पर्खाल ?

नेपालको संविधानले छुट्ट्याएको ३३ प्रतिशत अधिकार खै कहाँ छ ? सोच्छु, प्रश्न गर्छु, आफैँलाई ‘खै कहाँ, कसले पायो त्यो कागजमा सिमित अधिकार ?, बोक्सीको आरोपमा मलमूत्र खुवाएकी नारीले पाई कि !, बलात्कृत काखे, २ वर्षे अवोध बालिकाले पाई कि !, छाउको घाउ बोकेकी अभिशप्तले पाई कि !, या अभाव र वियोगको नाउ खियाइरहेकी परित्यक्ताले पाई कि ! वा यौन हिंसा सहेर बसेकी महिलाले पाइन् की !’ खै कसले पायो ३३ प्रतिशत अधिकार । 

तर म भन्छु ‘अब चाहिन्न मलाई त्यो कागजी अधिकार, तिम्रो त्यो खोक्रो अधिकारको वकालत !’ खोज्दै छु आफैँ नै अस्तित्व । 

यो लेख्नुको मूल लक्ष्य नैतिकता गुमाउने त्यो पुरुषका लागि हो जुसले नाबालिका बालिकालाई बलात्कार गर्छ, जसले नारीको महत्व भूलेका छन्, तिनलाई सचेत गराउनु मात्र हो । 

यहाँ बुझ्नै पर्ने कुरा के छ भने पुरुषले यो २१ औँ शताब्दीमा किन नैतिकता गुमाउँदै छन् । 

सहि काम पनि गलत समयमै गर्नुपर्छ । यो सँगै अर्को  एउटा कुरा के हो भने एउटा पुरुषले गर्ने अनैतिक क्रियाकलापले देशको सिंगो पुरुषमाथि प्रश्न चिह्न खडा हुन्छ । 

यो पुरुष प्रधान समाजले सधै नारीको अस्मितालाई नै तराजुमा राखेर किन जोख्न खोज्छ ? के अस्मिताको अग्नि परीक्षा नारीले मात्रै गर्नु पर्ने ठेक्का लिएका छन् ? म सधै झस्किन्छु यो समाजको नियम देखेर । के नारीले मात्र समाजको कठघरमा उभिनु पर्छ ? यो प्रश्न आम नेपाली नारीको हो ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई सय सात दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म एउटा अपराधी पत्ता लगाउन सकेको छैन । जनकपुरमा गत शुक्रवार मिथिला नगरपालिका ३ हरीहरपुकरी ११ वर्षीया बालिका रेश्मा भन्ने दुतीया रसाइलीको बलात्कारपछि हत्या गरी जलाइयो । तनहुँ रिसिङ गाउपालिका ८ की १० वर्षीया बालिकालाई ४५ वर्षीय हिलराव बिकले जबरजस्ती करणी गर्यो । सिराहा धनगढीमाई नगरपालिका १३ मा १४ वर्षीया बालिकालाई २४ वर्षीय श्रीराम यादवले र सोही ठाउँका १२ वर्षीया बालिकालाई २१ वर्षीय दिपक राईबाट जवरजस्ती करणी भए । खै कहाँ छ नारी अस्तित्व ।

किन दानब बन्दै छन् पुरुष ? के यो त्यही देश हो जहाँ नारीलाई लक्ष्मी, दुर्गा, सरस्वती लगायत रुपमा पुज्ने गरिन्थ्यो ? यी कलिला बालिकाहरुले कसको के बिगारेका थिए र ? किन विर्सिदै छन्  पुरुषले आफ्नो कर्तव्य, जिम्मेवारी ?

फोटो : गुगलबाट 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?