काठमाडौं । इजरायली समकक्षीलाई अनौपचारिकरुपमा भेटेपछि लिबियाकी विदेशमन्त्री निलम्बनमा परेकी छन् । लिबियाका प्रधानमन्त्रीले विदेशमन्त्री नाजला अल–मनगुसलाई निलम्बन गरेका हुन् ।
लिबियाले इजरायललाई अहिलेसम्म मान्यता दिएको छैन । उसले प्यालेस्टाइनको समर्थन गर्दछ । विदेशमन्त्रीको भेटपछि देशमा विरोध प्रदर्शन सुरु भएको छ ।
यता, इजरायलका विदेशमन्त्री एली कोहेनले नाजलासँगको भेटलाई ऐतिहासिक भन्दै सम्बन्ध सुधारको पहिलो पाइलाको रुपमा व्याख्या गरेका छन् । तेलको धनी लिबियाजस्तै इजरायलले अरब र मुस्लिम बाहुल्य भएको राष्ट्रहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको छ ।
यद्यपि, लिबियाको राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्ध कायम गर्नु गैरकानुनी भएको बताएको छ । संसद्का सभामुखको कार्यालयले नाजलामाथि देशद्रोहको आरोप लगाएको छ । विरोधसँगै प्रधानमन्त्री अब्दुल हामिद डीबेइबाहले छानबिनको आदेश दिएका छन् ।
कोहेन र नजलाबीच गत हप्ता रोममा भएको सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । दुई नेताबीच दुई देशको सम्बन्धको सम्भावनाहरुको बारेमा छलफल भएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया