महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा हङकङ चार विकेटले पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट छनोटको चौथो खेलमा नेपाल विजयी भएको छ । 

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आइतवार सम्पन्न भएको चौथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । ६३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १८ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । 

नेपालका लागि ओपनर ब्याट्स विमेन काजल श्रेष्ठले ४ रन बनाएर आउट भइन् । अर्का ओपनर ब्याट्सओमन उपकप्तान सिता रानामगर भने शुन्य रनमा पेभेलियनमा फर्किन । तेस्रो नम्बरमा ब्याटिङमा आएकी इन्दु बर्मा मात्र ४ रन बनाएर आउट भइन् ।

कप्तान रुबिना क्षेत्रीले ६ रन जोडिन । अप्सरी बेगमले २४ रन जोडिन । सातौ नम्बरमा ब्याटिङ लाइनमा आएकी रोमा थापा २ रनमा आउट भइन । सरिता मगरले अविजित १६ रन तथा नेरी थापाले एक रन बनाइन । 

हङकङका लागि जस्मिन टिटमुसले ३ विकेट लिइन । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । 

हङकङका लागि ओपनर ब्याट्सविमेन बेल्ला पुनले ११ रन तथा यस्मिन दाशवानीले १६ रन जोड्दै आउट भइन् । यि सान तो भने शुन्य रनमा पेभेलियनमा फर्किन । केरी चन र कप्तान मारिको हिलले समान २-२ रन जोडिन । मरिना लाम्पलोजले १९ रन बनाइन । त्यस्तै युसोफले ८ रन जोडिन । 

हङकङको पारी ध्वस्त पार्ने क्रममा नेपालका नेरी थापाले सर्बाधिक ६ विकेट लिइन् । उपकप्तान सिता रानामगरले २ विकेट लिइन । नेरीले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । उनले ४ ओभर बलिङ गर्दै मात्र ४ रन दिएकी थिइन् । 

जितपछि नेपालले ४ खेलबाट ६ अंक बनाएको छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालई ३४ रनले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित नेपालले तेस्रो खेलमा भने युएईलाई ७ विकेटले पराजित गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?