महिला विश्वकप क्रिकेट छनोट : पाँचौ खेलमा नेपालद्वारा चिन ५ रनले पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल विजयी भएको छ । 

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो । ७७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चिनको पारी निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा मात्र ७२ रनमा समेटिएको थियो ।

चिनका लागि झाङग मेइले सर्वाधिक ३३ रन तथा झौले १८ रन जोडिन । नेपालका सिता राणामगरले ३ तथा कविता कुवरले १ विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइन । त्यस्तै उपकप्तान सिता राना मगरले ११ रन, बिन्दु रावलले १० रन, इन्दु बर्माले ८ तथा नेरी थापाले अविजित ७ रन जोडिन ।

सरिता मगरले ६ रन बनाइन । चीनकी वाङ मेङ र हान लिलीले समान २-२ विकेट लिइन ।

जितपछि नेपालले ५ खेलबाट ८ अंकको साथ तेस्रो स्थानमा छ । समान ८ अंक नै जोडेको संयुक्त अरब इमिरेट्स ‘युएई’ रन रेटको आधारमा अघि रहँदै अंक तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको थाइल्याण्डको १० अंक छ ।  

यसअघि भएको पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल थाइल्याण्डसँग पराजित भएको थियो । त्यसपछिका बाँकी खेलमा भने नेपालले जित हात पार्दै आइरहेको छ । तेस्रो खेलमा युएईलाई तथा चौथो खेलमा हङकङलाई पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?