एन्फाको विधान विपरित मानार्थ पदबाट हटाइयो : टासी घले

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’का मानार्थ अध्यक्ष टासी घलेले कार्यसमितिले ‘पदच्युत’ गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । 

उनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयेजना गर्दै एन्फाले मानार्थ अध्यक्ष पदबाट हटाएको प्रति यस्तो धारणा राखेका हुन् । साथै उनले कार्यसमितिले गरेको यो निर्णयले आफुलाई अपमानित गरिएको बताए । 

एन्फाले उनलाई दुई दशक नेपाली फुटबलमा पु¥याएको योगदानको कदर गर्दै मानार्थ अध्यक्ष पद दिने निर्णय गरेको थियो । तर, उनलाई अहिले भने एन्फाको मानार्थ अध्यक्ष पदबाट हटाइएको छ । 

पत्रकार सम्मलेनमा उनले भने, ‘एन्फाले विधान विपरित मलाई मानार्थ पदबाट हटाइयो, मानार्थ पदक सम्मान स्वरुप दिने गरिन्छ, सम्मान गरेर दिएको पद समेत कही फिर्ता लिन मिल्छ ।’  

एन्फा कार्यसमिति निर्णयले आफ्नो अपमान गरेको भन्दै घलेले निर्णय बदरको माग गर्दै पाटन उच्च अदालतमा मुद्वा दायर समेत गरेका छन् । अदालतले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म टासीको मानार्थ पद खोस्ने निर्णय तत्काल कार्यान्वयन नगराउन एन्फालाई अन्तरिम आदेश जारी समेत गरेको थियो ।

एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वसँग टाढिएका थिए । उनले एन्फामा अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीको माग समेत गरेको बताइएको छ । तर, वर्तमान एन्फा अध्यक्ष शेर्पाले अन्तर्राष्ट्रिय विभागको नेतृत्व नेपाली मुलका जर्मन नागरिक नविन पाण्डेलाई सुम्पिएका थिए ।

त्यसपछि घले पछिल्लो समय वर्तमान नेतृत्वको टिमसँग रुष्ट बन्दै आइरहेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?