बुटवल । दाफिन्स एफसी क्यामरुनले २१ औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दाफिन्सले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लबबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रकेरमा पनि गोल नभएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको थियो ।
पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाफिन्सले उपाधि जितेको हो ।
प्रतियोगितामा जीतसँगै विजयी टिम दाफिन्सले आठ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले पाँच लाख ५० हजारमा चित्त बुझाएको छ ।
यस सिजनमा मात्र मनकामना र बुढासुब्बा गोल्ड कप पोल्टामा पारेर हौसिएको दाफिन्स तिलोत्तमा गोल्डकप जितेर ह्याट्रिक रहेको छ भने यसपालि खप्तड कप उचालेको पुलिस क्लबले लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा पुलिस क्लबका रबि पासवान बेस्ट फरवार्ड, हेम तामाङ बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेण्डर, अनन्त थापाले उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो घोषित भए । विजेता खेलाडीहरुले २५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगितामा रुपन्देही–११ का आशिष गुरुङ ‘क्यान अफ द टुर्नामेन्ट’ घोषित भए । उनले एक थान स्कुटर पुरस्कार प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया