‘वनकी चरी’ले फर्कायो गुमेको परिचय

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आधुनिक गीतको बजार सेलाएसँगै केही गायकहरुको लोकप्रियता पनि एकाएक सेलायो । तिनै गायकमा पर्छन् रुपक डोटेल । पहिलो नेपाली तारामा तेस्रो भएपछि नेपाली सांगीतिक क्षेत्रमा स्थान बनाउन सफल उनी अहिले मिडियामा कमै देखिन्छन् ।

सपनी राम्रो देखिन्न, मेरो बोली सुन्दा, चोखो माया लाकै हो जस्ता गीतहरुबाट नेपाली सांगीतिक क्षितिजमा राम्रो छवि बनाएका रुपकका पछिल्ला समयका गीतहरुले खासै राम्रो व्यापार गर्न सकिरहेका थिएनन् । त्यसो त उनले गीत गाउनै छोडेका भने होइनन् तर, बजारमा उनको कामलाई पहिले जस्तो रुचाइएको थिएन ।

यद्यपि, हालै बजारमा आएको ‘प्रसाद’ चलचित्रको ‘वनकी चरी के भन्छे’ बोलको गीतले पाएको प्रतिक्रियाले भने रुपकमा फेरि नयाँ आश थपिदिएको छ । धेरैपछि आफ्नो गीतले आशा गरेअनुसारको चर्चा पाएकोमा केही राहत महसुस गरेको उनी बताउँछन् । ‘एउटा गीत हिट हुन राम्रो आवाज मात्र नभएर समग्र टिम नै राम्रो हुनुपर्छ,’ उनले भने, ‘राम्रो व्यानरमा बनेको चलचित्रको गीत भएर पनि हो यसले चर्चा कमाएको ।’ गीत रेकर्ड गर्ने क्रममा नै यसले राम्रो बजार लिन्छ भनेर आफूलाई महसुस भएको रुपकले सुनाए ।

यूट्युबमा यस गीतले १५ मिलियन भिउज कमाइसकेको छ । त्यस्तै, स्रोता÷दर्शकले ‘नेपाली सांगीतिक आकाशमा एक अलग स्वाद!,
धेरै राम्रो गीत । जति सुनेपनि नअगाउने ।’ जस्ता कमेन्ट गर्न पनि भ्याएका छन् । टिकटकमा पनि ‘वनकी चरी’ उत्तिकै भाइरल छ । रुपकका अनुसार ‘वनकी चरी’ले उनलाई पहिलेको तुलनामा बढी गीतका अफरहरु पनि दिलाइरहेको छ ।

‘क्यासेट’ को युगबाट ‘क्लिक’को युगसम्म आइपुग्दा

वि सं २०४१ सालमा स्याङजाको चापागोठमा जन्मिएका रुपक त्यही वेलादेखि संगीततर्फ आकर्षित भए जुन वेलादेखि उनले संगीतको भाव बुझे, शब्दको मर्म बुझे । कक्षामा होस् या विद्यालयमा आयोजना हुने कार्यक्रममा गीत गाउने कुनै अवसर खेर फाल्दैनथे रुपक । आफ्नो गाउँमा संगीत सिक्ने, सिकाउने माहोल नभएपनि रेडियो, क्यासेटमा बज्ने गीतहरु खुब सुन्ने रुपकले सुनाए ।

‘त्यसवेला मनोरञ्जनको माध्यम भनेकै रेडियो, क्यासेट त थियो’, आफ्नो किशोरावस्थाका दिनहरु सम्झँदै उनी भन्छन्, ‘त्यही सीमित माध्यम भएकाले होला संगीत फगत मनोरञ्जन मात्र होइन भावनाहरुको निकाश थियो हाम्रा लागि ।’ 

एसएलसीपछि रुपकले गाउँ छोडे । गाउँ सँगसँगै उनको क्यासेटमा गीत सुन्ने बानी पनि छुट्यो । तर, संगीतप्रतिको लगाव भने दिनप्रतिदन दन्किदै गयो । यसकै उपज होला उनले विज्ञान विषयलाई त्यागेर ‘संगीत’ विषयको अध्ययन शुरु गरे ।

‘मलाई धेरै पढेर जागिर खाने, पैसा कमाउने मन कहिल्यै भएन बरु संगीतमै लाग्ने मन थियो,’ मुस्कुराउँदै उनी थप्छन्, ‘आफ्नै मनलाई ढाट्न कसले सक्छ र ? आखिर मनले मलाई आफ्नो बाटोमा डो-याएरै छाड्यो’। 

रेडियो र क्यासेटको त्यो युगपछि टिभीको युग आरम्भ भयो । गीतले म्युजिक भिडियोको आड पाउँदा थुप्रै कलाकार र गायकहरुले चर्चा कमाए । तिनैमा पर्छन् रुपक । उनका आधुनिक शैलीका गीतहरुमा थुप्रै युवाहरुको प्रेम गुञ्जियो । त्यसका शब्दमा उनीहरुले आफै बाँचेको महसुस गरे । म्युजिक भिडियोले झन सुनमा सुगन्ध थपिदियो ।

तर, इन्टरनेटको युगमा आइपुग्दा स्रोता/दर्शकले आफ्ना गीतहरु खासै रुचाएको पाएनन् रुपकले । एउटै फ्लेभरको गीत सुनेर स्रोताहरु दिक्क पो भएका हुन् कि भनेर आफूले फास्ट बिटका गीतहरुमा पनि स्वर भरेको रुपक बताउँछन् । यद्यपि, उनको यो प्रयासले पनि सोचेअनुसारको नतिजा भने पाएन ।

‘एक क्लिकले गायकको मिहिनेत, आवाज, साधनाको भविष्य निर्धारण गर्ने युग रहेछ यो,’ केही व्याङ्गात्मक लवजमा उनले भने ।   

‘गायकको स्वर र सूरत दुवै परिचित हुनुपर्दो रहेछ’

गीत ‘सुपरहिट’ हुँदा पनि गायकको नाम ‘गुमनाम’ रहेका थुप्रै उदाहरणहरु ज्वलन्त छन् हाम्रो समाजमा । शब्द, संगीत, संयोजन सँगसँगै एउटा गीतलाई सुमधुर बनाउन स्वरको भूमिका पनि उत्तिकै हुन्छ । यद्यपि, राम्रो गीत सुन्नासाथ त्यसको गायकलाई मूख्य श्रेय दिने समय गइसकेको बताउँछन् रुपक । चाहे सामाजिक सञ्जाल होस् या स्टेज शो वा म्युजिक भिडियो, कुनै न कुनै माध्यमबाट आफ्नो उपस्थिति महसुस गराइरहनुपर्ने रहेछ भनेर आफूले बुझिसकेको बताए उनले । 

‘आवाज सुनेर मात्रै स्रोता/दर्शकहरुको मनमा बस्न नसकिदो रहेछ आजकल,’ रुपक अगाडि थप्छन्, ‘स्वर सँगै सूरत पनि चिरपरिचत हुन जरुरी रहेछ ।’ यही कारण आगामी दिनमा आफूले भिडियोमा समेत देखापर्ने योजना बनाएको उनले लोकपथलाई सुनाए । 

भिडियोका लागि तल दिइएको लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?