महिला विश्वकप क्रिकेट छनोट : अन्तिम खेलमा नेपालद्वारा कुवेत ३० रनले पराजित

काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । 

बैंककस्थित एशियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा बुधवार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । 

१ सय १७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको कुवेतको पारी ९ विकेटको क्षतीमा मात्र ८६ रनमा समेटिएको थियो । कुवेतका लागि मार्यम ओमारले २९ रन, प्रियादा मुरलीले १४ रन, सबरिन जाकीले १२ रन जोडिन । मरियमा हादेरले पनि १२ रन जोडिन । 

कुवेतको पारी ध्वस्त पार्ने क्रममा नेपालका करुणा भण्डारी र रुबिना  क्षेत्रीले समान ३-३ तथा नेरी थापा र कविता कुवरले एक-एक विकेट हात पारिन ।  कप्तान क्षेत्रीले ह्याट्रिक पुरा गरेकी छिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि बिन्दु रावलले अविजित सर्वाधिक २८ रन जोडिन । ओपनर ब्याट्स विमेन काजल श्रेष्ठले १८ रन जोडिन । उनले १६ बलमा २ चौका प्रहार गरेकी थिइन । त्यस्तै उपकप्तान सिता रानामगर भने शुन्य रनमा पेभेलियनमा फकिन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले ७ रन जोडिन । रोमा थापाले ७ रन तथा नेरी थापाले १७ रन बनाउँदै आउट भइन् । सरिता मगर पनि शुन्य रनमा आउट भइन । कप्तान रुबिना क्षेत्रीले २२ रन बनाइन् । 

कुवेतका लागि मार्यम ओमार र प्रियादा मुरलीले समान दुई-दुई लिइन । जितपछि नेपालले ६ खेलबाट १० अंक बनाएको छ । 

अब अघिल्लो चरण प्रवेशको लागि नेपालले थाइल्याण्ड र संयुक्त अरब इमिरेट्स ‘युएई’बीचको नतिजा कुर्नुपर्नेछ । थाइल्याण्डको १० अंक छ भने युएईको ८ अंक छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित भयो । तेस्रो खेलमानेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो । 

त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले तथा पाँचौ खेलमा चीनलाई पाँच रनले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?