दमौली । मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन ‘चार्ज’ मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।
मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना रहँदै आएको थियो । अब भने मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको उनले बताए ।
‘मस्र्याङ्दी–काठमाडौँ र मस्र्याङ्दी–भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यस्र्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था रहेको थियो ।’ उनले भने, ‘अब त्यस्तो समस्या पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत् दमौली सवस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’
निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट तथा तल्लो मस्र्याङ्दी ६९ मेगावाट गरी २ सय ५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।
मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।
उनले दमौली सवस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमशः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताए ।
उनले भने, ‘यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सवस्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछौँ।’ उनका अनुसार मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सवस्टेसनमा वे थपिएको छ भने मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया