भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान

लोकपथ
70
Shares

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन वटा विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

विकासले यसअघि आफ्नै नाममा रहेका किर्तिमान सुधार गरेका हुन् । स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका उनले यसअघि १२३ केजीको कीर्तिमान राखेका थिए । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।

विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे। यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए ।

कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?