मस्को । रूसले भेनेजुयलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभले शुक्रवार बताएका छन् ।
उनले भेनेजुयलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजसँगको भेटपछि जारी गरेको संयुक्त पत्रकार सम्मेलनमा भने, “रूसले भेनेजुयलालाई दिँदै आएको मानवीय सहायता लगायतका अन्य सहयोगलाई जारी राख्दै भेनेजुयालामा हाल देखिएको राजनीतिक, सामाजीक तथा आर्थिक समस्यामा सरकारलाई सघाउने छ । भेनेजुयलामा आवश्यक पर्ने मानवीय सहायतालाई प्रक्रियागतरूपमा जारी राख्न हामी प्रतिवद्ध छौँ ।”
मस्कोमा रोद्रिगेजसँगको शुरूवाती छलफलमा लाभरोभले भेनेजुयली राष्ट्रपति निकोलस मदुरोलाई काराकसले भोगिरहेकोे राजनीतिक सङ्कटलाई सामना गर्न रूसी पक्षबाट सहयोगका लागि ऐक्यवद्धता व्यक्त गरेका थिए ।
“हामीले अत्यधिक निकटमा रहेर भेनेजुयलाको समस्याबारे अन्तराष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौँ,” लाभरोभले भने ।
“वर्तमान समयमा भेनेजुयलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।”
आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुयलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषित रूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक सङ्कटतर्फ गइरहेको छ । मदुरोले वैधानिकता गुमाएको दावी गुएइदोले गर्दै आएका छन् ।
मदुरो र उनका रूस लगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।
संयुक्त राज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उनको नेतृत्वका लागि कूटनीतिक अभियान चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया