बालेन–हर्कको फेसबुके अभिव्यक्तिमाथि देवत्वकरण कहिलेसम्म ? (भिडियोसहित)

केही दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्तिसहित पोखिए ।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका बालेन एकाएक सामाजिक सञ्जालदेखि मिडियासम्म क्षणभरमै छाए । आखिर बालेनलाई त्यही अभिव्यक्ति गलपासो बन्यो । चर्को आलोचना पश्चात अन्ततः बालेन उक्त अभिव्यक्ति फेसबुकबाट हटाउन बाध्य भए ।

पछिल्लो समय देशमा बढिरहेको चरम बेरोजगारी, दशकौँदेखिको अस्थिर राजनीति र युवा पलायनताको अवस्थाले आममानिसमा वितृष्णा बढिरहेको छ । जसलाई बालेनको उक्त स्टाटसमा आएको प्रतिक्रियाले पनि इंगित गर्थ्यो ।

अवस्था यस्तो आइसक्यो कि राजनीति गर्नेहरु सबै खराब नै हुन्, यिनीहरुले देशलाई खोक्रो बनाइसके भन्ने जमात ठूलो छ । त्यसैका कारण राजनीतिक दलप्रति आममानिसको वितृष्णा र एकाध व्यक्तिप्रति आकर्षण बढीरहेको छ । त्यही आकर्षणको बलमा बालेन, हर्क, गोपाल हमालजस्ता पात्रले जनताको मत पाए ।

दलीय व्यवस्थामा यसरी स्वतन्त्रहरुको उदयले राजनीतिक दलहरुमाथि चुनौती र अवसर दुवै थपिएको छ । दलहरुलाई चक्मा दिँदै जनताले स्वतन्त्रलाई यसरी जिताइदिए की राजनीतिक दलहरुको जग नै हल्लाइदियो । अनि राजनीतिक दलमा जबर्जस्त परिभाषित भोट बैंक इलाकाहरु एकाएक ध्वस्त भए । अनि नेताका ठूला ठूला भाषणमा रमाउन छोडेका जनताले भुईंमान्छेका कुरा सुन्ने सरल मान्छेलाई रोजे । त्यही सरलताको प्रतिबिम्ब थिए धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ । चुनावका बेला हर्कसँग न ठूला सपना थिए न त जनतासामू आश्वासन नै । उनको उद्घोष थियो त केबल वर्षौँदेखिको खानेपानी समस्या समाधान गर्ने । उनले त्यो उद्घोषलाई निर्वाचित भएसँगै सुरुवात गरे । जसमा जनताबाट सोचेभन्दा राम्रो साथ पनि पाए । जसका कारण उनी आफ्नो प्रतिवद्धता पूरा गर्न सफल साबित पनि भए । तर, हर्कको पनि पछिल्लो समय फेसबुके बाणीले लोकप्रियता घट्दो क्रममा छ ।

सामान्य कुरामा पनि प्रतिक्रिया जनाइहाल्ने बानी परेका हर्कका कतिपय अभिव्यक्तिले आचोचनात्मक प्रतिक्रिया पाउने गरेका छन् ।
अरुले गरेको आलोचना सुन्नै नचाहने हर्कले शुक्रबार एउटा हर्कत गरे । कारण थियो उनीमाथिको प्रश्न । धरान उपमहानगरपालिका वडा नं १५ मा श्रमदानका लागि माइकिङ गरिरहेको हर्कलाई स्थानीय अशोक लिम्बूले प्रश्न गरे । डेंगुले मान्छे मरिरहँदा पनि यहाँ किन कार्यक्रम गरेर बसेको भन्दै प्रश्न गरेका उनले शुरुमा माइकबाटै हप्काए । पछि आफूमाथि हातपात गर्न आएको भन्दै थुनामा पठाए । त्यतिमात्र होइन वृक्षारोपण गर्न तल्लिन हर्क व्यक्तिको व्यक्तिगत जग्गामा समेत रुख रोप्न पुगेपछि उनीमाथि एक महिला खनिएकी थिइन् । त्यसमा पनि आफूले जसरी पनि विरुवा रोप्ने धम्की दिएका साम्पाङ विधि र विधानमा आफ्नै नियम लागू गर्न खोजिरहेका छन् भन्ने पुष्टि गथ्र्यो ।

मनमौजी प्रवृत्तिमा रमाउन चाहने मेयर साम्पाङ एउटा भीडबाट समर्थन पाइरहे पनि आफ्नै कार्यपालिकाका वडाध्यक्षहरुबाट भने आलोचित छन् । उनको कार्यशैलीलाई लिएर बैठकमै कडा आलोचना हुने गर्छ । वडाध्यक्षहरुले ल्याएको प्रस्ताव छलफल नै नगरी अस्वीकृत गरिदिने गरेको कारण वडाध्यक्षहरुले बैठक नै बहिस्कार गर्ने अवस्था समेत सिर्जना भएको छ । आफूमाथि असहयोग भएको भन्दै साम्पाङले विज्ञप्ति नै निकालेर राजीनामाको माग समेत गरेका यसअघिका उदाहरण छन् ।

यता बालेनले पनि शिक्षा र स्वास्थ्यका क्षेत्रका प्रशंसायोग्य काम गरिरहेका छन् । तर, उनी पनि मनमौजी स्वभावका छन् ।

आलोचना खासै सुन्न चाहँदैनन् । सरकार र राजनीतिप्रतिको चरम वितृष्णा पैदा भइरहेको समयमा सामाजिक सञ्जालदेखि आम सर्वसाधारणबाट समेत राम्रो समर्थन पाइरहेका बालेनमा पनि हुकुमी शैली देखिन्छ । उनको समर्थकको यस्तो भीड बनेको छ की उनले बोलेका हरेक कुराहरु सत्य नै हुन् । सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरुले उनलाई देवत्वकरण गर्नेहरुको भीड ठूलो छ । काठमाडौंलाई गरिबले बाँच्न सक्ने सहर बनाउँछु भन्दै जनताको दैलोमा पुगेका बालेनमाथि निर्वाचनपछि तिनै गरिबको गाँस खोसेको आरोपसमेत लाग्यो । केही दिन अघि फुटपाथ व्यापारीहरुले महानगर अघि गरिखान देउ भन्दै नाराबाजी नै गरे ।

त्यस्तै, भत्काउन जानेको तर, बनाउन नजानेको भनेर आलोचना खेपिरहेका मेयर बालेनको टुकुचा उत्खनन्, सामाखुसी उत्खनन्, कपन खोला उत्खनन्देखि सुकुम्बासी बस्तीभित्र तयारी बिना डोजर चलाउनुुले समस्या समाधान नभएर थप जटिलता थपिएको देखिन्छ ।

वर्षौैँदेखिको अस्थिर राजनीति । राजनीतिक दल र नेताप्रतिको जनतामा चरम आक्रोश । र यही आक्रोशको मौकामा आएका स्वतन्त्र पात्र । हरेक निर्णयमा राजनीतिक दलको हस्तक्षेप बढिरहेका बेला उदाएका पात्रबाट पक्कै पनि जनतामा नयाँ आशा छ । न कसैको हस्तक्षेप, कार्यकारी भूमिका पाएका स्वतन्त्र मेयरले गर्न चाहेमा जति पनि जनपक्षीय निर्णयहरु गर्न सक्छन् । तर, पाएको ‘स्वतन्त्रता’ मनमौजी ढंगबाट चल्न खोजेमा भोलिका दिनमा जसरी दलको विकल्प खोजे त्यसैगरी स्वतन्त्रको विकल्प तीनै जनताबाट नखोजिएला भन्न सकिन्न !

https://www.facebook.com/watch?v=1886598365067772

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?