अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

लोकपथ
56
Shares

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो ।

अनुवाद विप्लव प्रतीक र लेखक–अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे । विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने । रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् ।

आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो । दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो,’ उनले भने, ‘वर्षौं प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउँमा तिनलाई प्रयोग गरेको छु ।’ पुस्तकको शीर्षकबारे भने प्रतीकले आफूले अनुवाद सुरु गर्दा यसबारे नसोचेको बताए । ‘अन्तिममा ४–५ वटा नामबारे सोचेको थिएँ,’ उनले भने, ‘लेखकरअनुवाद वसन्त थापासँग पनि कुरा भइरहेको थियो । अन्तिममा सत्यको जगमा उभिएर नै सही लागेर यही राखिएको हो ।’ एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने यो पुस्तक भएको बताइएको छ । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले सविस्तार बयान गरेको छ ।

जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा भेटिन्छ । र, यो संस्मरणात्मक जीवनगाथाले पाठकमा साहस भरिदिने मात्रै होइन, सत्यको मार्गमै हिँड्ने उत्साह पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?