एजेन्सी । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।
हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए । यो घटनाले उनको जीवन मात्र बदलिएन पाकिस्तानी क्रिकेटको परिदृश्य नै फेरिएको छ ।
दोस्रो टेस्टका निम्ति अतिरिक्त निर्णायक ‘रिजर्भ अम्यायर’को भूमिकामा रहेका रजा अरु खेल अधिकारीहरुसँगै गद्दाफी रङ्गशालातर्फ जाँदै थिए । केही अघि गुडिरहेको क्रिकेट टोली बोकेको बसमाथि एकाएक आक्रमण भयो । उक्त आक्रमणबाट छ जना प्रहरी र सडक छेउमा उभिएका मानिस मारिनुका साथै छ जना अरु घाइते भए ।
दुई वटा गोलीले रजाको फोक्सो र कलेजो छेड्यो । बेहोस र अचेत भएका रजा छ महिनापछि मुश्किलले हिँड्न सक्ने भए ।
‘मेरो घाऊ त ठीक भयो तर जहिले उनीहरुलाई देख्छु त्यो घटना आँखा अगाडि प्रकट भइहाल्छ ।’, उनले बताए । ‘कसैले त्यो घटनाको कुरा गर्नासाथ मलाई त्यो घटना नसम्झाउन अनुरोध गरिहाल्छु । म त्यो घटना सम्झन पनि सक्दिन ।’
त्यो आक्रमणले क्रिकेट–प्रेमी पाकिस्तानमाथि ठूलो बज्रपात भयो । पाकिस्तानमा अन्तर्राष्ट्रिय खेलहरु स्थगित गरिए, र एक दशकपछि पनि अधिकांश विदेशी टोलीहरु यहाँ खेल्न अस्वीकार गरिरहेका छन् ।
संयुक्त अरब इमिरेट्स ‘युएई’ मा पाकिस्तानले घरेलु शृङ्खला खेलिरहे पनि राष्ट्रिय क्रिकेट बोर्डले करिब २० करोड अमेरिकी डलर आम्दानी गुमाएको छ ।
पाकिस्तानी सुपर लिगका मुख्य खेलहरु पनि युएईमा हुन थालेका छन् । तर, हरेक वर्ष पाकिस्तानमा यस लिगका खेलहरु बढाउन थालिएको छ । श्रीलङ्काली टोलीमाथि आक्रमण भएको ६ वर्षपछि सन् २०१५ मा जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो ।
निकै कडा सुरक्षाबीच गद्दाफी रंगशालामा मार्च २०१७ मा पाकिस्तान सुपर लिगको फाइनल खेल खेलाइएको थियो । लाहोरमा तीन वटा विश्व टी-ट्वान्टी क्रिकेट खेलाइएको थियो ।
तर, आक्रमण भएको आठ वर्षपछि सन् २०१७ को अक्टोबरमा श्रीलङ्काली टोलीले एकमात्र टी-ट्वान्टी क्रिकेट खेल्न यहाँ आएको थियो । यही रंगशालामा श्रीलङ्काली टोलीमाथि आक्रमण हुनुका साथै हवाई उद्धार गरी उनीहरुलाई स्वदेश पठाइएको थियो ।
‘म त्यस दिन ज्यादै भावुक भएको थिए ।’, उनले थपे । ‘पाकिस्तान क्रिकेट बोर्डको निरन्तरको प्रयासका कारण पाकिस्तानमा निकट भविष्यमै विदेशी टोलीहरु खेल्न आउनेमा म शतप्रतिशत ढुक्क छु ।’
गत मे महिनामा कराँचीमा वेस्ट इन्डिजले पनि तीन वटा टीट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
पाकिस्तानका पूर्व कप्तान आसिफ इकवालको विश्वासमा पिएसएल खेलहरुले विदेशी टोलीको आत्मविश्वास बढाएको छ । तर प्रमुख देशहरुलाई पाकिस्तान ल्याउन निकै प्रयत्न आवश्यक हुने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय क्रिकेटको पाकिस्तानमा पुनरागमन अवश्य हुन्छ, र म त्यसमा विश्वस्त छु ।’
गत वर्ष न्यूजीन्यान्डले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो । जनवरीमा पनि अस्ट्रेलियाले एक दिवसीय खेलका लागि पाकिस्तानले गरेको अनुरोध अस्वीकृत गरेको थियो ।
‘पाकिस्तानमा सुरक्षाको व्यवस्था राम्रो छ । तर खेलाडीहरुले बिना सुरक्षा त्रासमा खेल्न पाउनु पर्दछ, र त्यस्तो वातावरण बनाउन त्यति सजिलो छैन । हामी सुरक्षा सुनिश्चित गराउनेतर्फ निकै प्रयास गरिरहेका छौं ।’ पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया