काठमाडौं । विदेशी मुद्र्राको सञ्चिती बढेको छ । आईतबार सार्वजनिक गरेको भएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव दुई प्रतिशतले बढेर २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा एक दशमलव दुई प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा दुई दशमलव नौं प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा दुई दशमलव नौं प्रतिशतले कमी आई एक खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौं प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिना पाँच दिनको वस्तु आयात र १० महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९ दशमलव दुई प्रतिशत, ८५ दशमलव सात प्रतिशत र २६ दशमलव तीन प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया