महाशिवरात्रिलाई लक्षित गर्दै ट्राफिक व्यवस्था, कुन–कुन ठाउँमा सवारीसाधान निषेध

काठमाडौं । महाशिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न क्षेत्रमा सवारीसाधान प्रवेशमा निषेध गरेको छ । 

ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ट्राफिक महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्वारिका होटबाट गौशाला, सिफालबाट जयबागेश्वरी र लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगंगाबाट गौशालाका सवारीसाधानलाई प्रवेश निषेध गरेको छ । 

यसैगरी दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ । 

साथै पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हुँदै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदै साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । त्यस्तै कालोपुल हुँदै कपन चल्ने सवारीसाधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ ।

सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्णपाउरोटी–नक्साल–चावहिल हुँदै बौद्धसम्म र जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायणगोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल, चाबहिल गणेशस्थान हुँदै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको ट्राफिक महाशाखाले जानकारी दिएको छ । 

शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ५ सय ८२ ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?