काठमाडौं । बिगत लामोसमय देखि निराश बनेका सेयर लगानीकर्ताहरु यो साता उत्साहित देखिएका छन् ।
यो साता सुरुवाती दिन घटेको नेप्से त्यसपछि लगातार बढेको थियो । यसै साता अर्थमन्त्री डा. प्रकाश शरण महतको आग्रहपछि गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा हाल कायम रहेको १२ करोडको कर्जा सिमालाई हटाउन सक्ने संकेत गरेका थिए । सोही संकेतका कारण पनि लगानीकर्ताहरु सेयर बजारप्रति उत्साहित भएका हुन ।
गर्भनरको उक्त संकेतले साताको अन्तिम कारोबार दिन नेप्से सुचक संगै कारोबार रकम पनि उच्चरुपमा बढ्नुलाई लगानीकर्ताहरुले सुखदरुपमा लिएका छन् । जसले गर्दा सातामा नेप्से दुई हजार २९ दशमलव ७७ अंकमा पुग्न सफल रह्यो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सातामा तीन सय ८८ दशमलव ७२ अंकमा कायम रहन सफल भयो ।
नेप्सेमा यो साता दुुई सय ७८ वटा कम्पनीहरुको दुई लाख ८४ हजार एक सय ५६ पटक सेयर किनबेच भएको थियो । जसबाट कुल दुई करोड ४१ लाख ३४ हजार छ सय २५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैंयाँ कायम रहन सफल भयो । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता दुुई सय ७८ वटा कम्पनीहरुको एक लाख ३३ हजार दुई सय १० पटक सेयर किनबेच भएको थियो । जसबाट एक करोड ८१ लाख १७ हजार आठ सय १३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब २२ करोड ११ लाख ३५ हजार दुई सय ३७ रुपैंयाँ कायम हुन पुगेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नियमित कारोबारको लागि नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन घटेको नेप्से दोस्रो, तेस्रो र पाँचौं दिन बढेको थियो । चौंथो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । पहिलो दिन ४२ दशमलव १४ अंकले घटेर १९ सय ६४ दशमलव ९१ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन चार दशमलव २६ अंकले बढेर १९ सय ६९ दशमलव १८ अंकमा चढ्न पुगेको थियो ।
यसैगरी तेस्रो दिन १६ दशमलव २४ अंकले बढेर १९ सय ८५ दशमलव अंकमा चढेको नेप्से पाँचौं दिन पुन ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पहिलो दिन आठ दशमलव १२ अंकले घटेर तीन सय ७८ दशमलव ६८ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन शुन्य दशमलव शुन्य चार अंकले बढेर तीन सय ७८ दशमलव ७३ बिन्दुमा चढेको थियो । तेस्रो दिन पुन दुई दशमलव ४३ अंकले बढेर तीन सय ८१ दशमलव १७ बिन्दुमा चढेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि सात दशमलव ५५ अंकले बढेर तीन सय ८८ दशमलव ७२ अंकमा पुग्न सफल भएको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया