आन्दोलनरत राहतका शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने

लोकपथ
63
Shares

काठमाडौं । सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ ।

प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले छलफल गर्न लागेको हो ।

आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल हुने भएको हो। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए ।

शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?