होला त टिकापुर घटनाको फैसला आज ?

काठमाडौं । टिकापुर घटनाको फैसला आज जिल्ला अदालत कैलालीले गर्ने तयारी गरेको छ । 

अदालतका रजिष्ट्रारका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलवार सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधवार) फैसला गर्ने तयारी गरेको हो । 

विसं. २०७२ भदौ ७ गते कैलालीको टिकापुररमा एक नाबालकसहित ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला आज हुन लागेको हो । 

प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन् । 

काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका थिए भने दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका थिए ।

यसैगरी कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा बहस गरेको र वादीहरुको पक्षमा जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन् । 

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासमा भएको दुवै पक्षको बहस मंगलवार सकिएकाले बुधवार फैसला हुने सम्भावना रहेको जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायतले बताए ।

टिकापुर घटनामा मुख्य अभियुक्तको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

यसैगरी गत पुस १९ गते पुर्पक्षका लागि थुनामा रहेका बेला रेशम चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका थिए । 

सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको समथ खुवाएका थिए । 

फरार रहेकै अवस्थमा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले बारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर, सर्वोच्चले उनको रिट खारेज गरेको थियो । सार्वेच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?