काठमाडौं । नारी शक्तिको कुनै स्वरुप हुँदो हो त ठ्याक्कै सुनिता दनुवार जस्तो देखिदो हो । उनले जीवनमा भोगेका भोगाइ धेरैको कल्पनामा समेत अटाउन नसक्ला । र, त्यस भोगाइबाट निस्किएर उनले जसरी आफ्नो जीवनलाई नयाँ बाटोतर्फ पहिल्याइन् त्यो पनि कमै व्यक्तिको क्षमताले भ्याउँछ, शायद ।
त्यसैले त उनी कैयौं बालबालिकाकी आमा बनेकी छिन् । सीमा पारी बेचिएका चेलीहरुकी जीवनदाता बनेकी छिन् र जीवनदेखि हार मानेका नारीहरुको हिम्मत बनेकी छिन् ।
समाजसेवामा होमिएका व्यक्तिहरुको कमी छैन हाम्रो समाजमा तर, सुनिता यसकारण पनि अरुभन्दा फरक छिन् कि उनी ती छोरीहरुको हकहितका निमित्त लागिपरेकी छिन् जसलाई हेर्दा उनलाई आफ्नो भोगाइको झल्को आउँछ । यसकारण पनि चेलीबेटी बेचबिखन विरुद्धको अभियानका निमित्त उनी उचित अभियान्ता हुन् कि उनी आफै पनि कुनै समय भारतमा बेचिएर यौन धन्दामा लाग्न बाध्य बनाइएकी थिइन् ।
घटना नराम्रो, नतिजा राम्रो
पश्चिम पहाडको दैलेखस्थित विकट गाउँको गरिब परिवारमा जन्मनु, गरिबी, कुपोषणका कारण दाजुभाइ दिदीबहिनीको मृत्यु हुनु र परिवारै काश्मिरमा बसाइ सर्नु, हातमुख जोड्नकै लागि कापी कलम बोक्ने उमेरमा हातले गिटी, बालुवासँग मित्रता गाँस्नु, १४ वर्षको उमेरमा भारतको कोठीमा बेचिनु, नचाहँदा नचाहँदै कैयौं अपरिचित पुरुषहरुको यौनकुण्ठा मेटाउने साधन बनाइनु, हरेक दिन शारीरिक र मानसिक दुव्र्यवहारको शिकार हुनु, चार वर्ष लामो कहालीलाग्दो जीवनपछि उद्धार भएर नेपाल फर्कनु, शक्ति समूहको स्थापना गर्नु, म्यागासेसे लगायत विश्वका प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनु सुनिताको जीवनको त्यो पाटो हो जोसँग प्राय सबै अवगत छन् ।
हो, यी शब्दले उनको जीवनमा आइपरेका अत्यास लाग्दा क्षणहरुलाई सामान्य देखाइ रहेका छन् । सुनिताले जुन पीडा महसुस गरिन्, जस्तो संघर्ष गरिन् त्यसलाई न्याय गर्ने हरफ शायदै कहिले रचिएला । यद्यपि, कहिलेकाहीँ नराम्रै घटनाले पनि राम्रो नतिजा ल्याइदिँदो रहेछ भन्ने अनुभूति भएको बताउँछिन् सुनिता । भन्छिन्, ‘मैले आफ्नो शोकलाई शक्तिमा बदलें’।
जीवनमा यो घटना नभइदिएको भए कुनै अनकन्टार ठाउँमा आधा दर्जन छोराछोरीकी आमा भएर के खाउँ, के लाउँको अवस्थामा हुने थिएँ जस्तो लाग्छ सुनितालाई । ‘ठूलो मान्छे हुन्छु भनेर त सोच्थें तर, यो सपना पूरा हुँदैन भन्ने पनि थाहा थियो,’ आफ्नो विगत पल्टाउँदै उनी थप्छिन्, ‘बाउआमाको पढाउन सक्ने अवस्था जो थिएन ।’
तर, उक्त घटनापछि उनले सपना देखिन् । उनको सपना पूरा भयो । अहिले उनी आफूजस्तै अवस्थाबाट गुज्रिएका कलिला छोरीहरुलाई सपना बाँडिरहेकी छिन् ।
त्यसैले आफ्नो जीवनको सबैभन्दा ठूलो ‘ट्राजिडी’ थाहै नपाइ सुनौलो अवसरको माध्यम भइदिएको बताउँछिन् उनी । यही दौरान उनले अर्को महत्वपूर्ण कुरा के बुझिन् भने ‘आत्मविश्वास र साहस’ हरकोहीसँग नहुने रहेछ ।
आफूसँगै सन् १९९६ मा भारतबाट उद्धार गरिएका १ सय २८ जना नेपाली चेलीमध्ये १० प्रतिशत मात्रै खुलेर बाहिर आउनु र आफूजस्तै बेचिएका छोरीचेलीको उद्धारकार्यमा लाग्नुले सुनितालाई यही आभास दिलाउँछ ।
शक्ति समूहकी ‘शक्ति’ सुनिता
कोठीको चार दिवारबाट मुक्त भइसकेपछि आफूसँगै उद्धार भएका १५ साथीहरुको सहयोगमा सन् १९९६ मा ‘शक्ति समूह’ को स्थापना त भयो । तर, यसलाई एउटा संगठित परिवारका रुपमा उभ्याउन भने सहज थिएन उनीहरुलाई ।
१५ जनामा प्राय सबैको शैक्षिक अवस्था कमजोर हुनु र आफूलाई समाजले हेर्ने शंकास्पद दृष्टिकोण यसका मुख्य कारण भएको सुनिताले बताइन् । यद्यपि, ‘मान्छे पढेर भन्दा परेर जान्ने हुन्छ’ भन्ने भनाइ शायद उनले सानैदेखि सुनेकी थिइन् जसरी हरेक नेपालीले हुर्कने क्रममा आफूभन्दा ठूलाहरुबाट यो भनाइ सुनेको हुन्छ । नेपालका विभिन्न गाउँहरुमा पैदल यात्रा गर्दै घरदैलो कार्यक्रम गरेर होस् या सडकमा नाटक प्रदर्शन गरेर, उनीहरुले जनचेतना फैलाउने काम शुरु गरे ।
आफूले यो दुई दशकभन्दा लामो समयमा सयौं छोरीचेलीलाई उद्धार गरेर परामर्श दिने, मानसिक र आर्थिक रुपमा सबल बनाउन सीपमूलक तालिम दिने र उनीहरुले बनाएको सामाग्रीलाई बजारको व्यवस्था मिलाइदिने जस्ता क्रियाकलापमार्फत् प्रोत्साहन गरिरहेको सुनिताले बताइन् ।
यसरी नयाँ जीवन पाएका कैयौं छोरीहरु ‘सुनिता’लाई आफ्नो आइडल मान्छन् । उनको संघर्ष र साहसको गुणगान गाउँछन् । उनीहरुले बुझेका छन्, यदि सुनिताले २३ वर्ष अघि यो कदम नचालेको भए उनीहरु अझै पनि भारतको कोठीमा कुनै ग्राहकको रुखो स्पर्श महसुस गर्न बाध्य हुने थिए ।
उद्धार भइ शक्ति समूह परिवारकै सदस्यका रुपमा बस्दै आएकी एक युवती भन्छिन्, ‘बाँच्छु जस्तो लाग्दैनथ्यो, यहाँ आएपछि त नयाँ जीवन पाएजस्तो लाग्छ ।’ उनले यहाँ पुराना कपडालाई ‘रिफाइन’ गरेर नयाँ पछ्यौरा बनाउन सिकेकी छिन् । साथीहरु बनाएकी छिन् । यहाँ आउनुअघि ३ कक्षासम्म मात्र पढेकी उनले ४ कक्षामा राम्रो अंक ल्याएकाले ५ नपढी ६ मा पढ्ने अवसर पाएकी छिन् । सबैभन्दा महत्वपूर्ण कुरा त उनका आँखामा आजकल आँसु होइन सपनाको चमक देखिन्छ ।
***
‘जबसम्म नेपालबाट पूर्णरुपमा मानव बेचबिखन उन्मूलन हुँदैन तबसम्म म आफूलाई सफल मान्दिन’, भन्छिन् सुनिता । भलै समाजमा यौनका लागि छोरीहरु मात्रै बेचिन्छन् भन्ने गलत छाप परेको छ तर, आजकल छोराहरु पनि यौन र श्रमका लागि बेचिइने घटनाहरु सुनिन थालेको सुनिताले प्रष्टयाइन् । त्यसैले समग्र रुपमा मानवबेचबिखन नै उन्मूलन भएको दिन मात्र आफ्नो अभियान सफल भएको ठान्ने उनी बताउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया