दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असारमा हुने

काठमाडौं । आगामी असारमा काठमाडौंमा दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । 

१२ औँ संस्करणको यो प्रतियोगिता असारको पहिलो सातामा सञ्चालन हुने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अनुसार यो प्रतियोगिता असार ६ र ७ गते सञ्चालन हुनेछ । 

प्रतियोगिताका सबै खेलहरु कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा खेलाडीहरुले ५५ केजी तौल समूह, ६० केजी तौल समूह, ६५ केजी तौल समूह, ७० केजी तौल समूह, ७५केजी तौल समूह, ८० केजी तौल समूह, ८५ केजी तौल समूह, ९० केजी तौल समूह र ९० केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै पुरुषको फिटनेस फिजिक्समा १ सय ७० सीएम र १ सय ७० सीएम उचाईमाथि तथा महिला एथलेटिक्स फिजिक्सतर्फ १ सय ६५ सीएम र  १ सय ६५ सीएम उचाईमाथि पनि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछ ।

आयोजकका अनुसार यो प्रतियोगिताका लागि विश्व बडीबिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स फेडेरेसनका महासचिव तथा एशियन बडीबिल्डिङ एण्ड फिटनेस फेडेरेसनका अध्यक्ष डातुक पाउल चुआ पनि नेपाल आउने जानकारी दिएको छ । 

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, माल्दिभ्स र बंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?