काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको फराकिलो अन्तरले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो । यो जितसँगै नेपालले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जित हासिल गरेको छ ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा फराकिलो अन्तरको जितको कीर्तिमान चेक रिपब्लिकको नाममा थियो । चेक रिपब्लिकले सन् २०१९ मा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।
नेपालले दिएको तीन सय १४ रनको लक्ष्य पच्छ्याएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्यो । मंगोलियाका एक दाबा सुरेनले १० रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
मंगोलियालाई सस्तोमा समेट्न नेपालका लागि अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिएका थिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्घ नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । कुशलले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाएका हुन् । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमानी बनाएका छन् । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका छन् । उनले ९ बलमा अर्धशतक बनाएका हुन् ।
यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका छन् ।
योसँगै मंगोलियासँगको खेलमा नेपालले ८ वटा विश्व कीर्तिमान बनाएको छ । २७३ रनको सर्वाधिक ठूलो अन्तरको जीत, ३१४ रनको सर्वाधिक ठूलो टीम स्कोर, दीपेन्द्रसिंह ऐरीले १८ र १९ औँ ओभरमा पहिलो ६ बलमा ६ छक्का, कुशल मल्लको सर्वाधिक रन, कुशल मल्ल र रोहित पौडेलबीचको सर्वाधिक ठूलो साझेदारी र एउटै म्याचमा सर्वाधिक छक्का लगायतका विश्वकीर्तिमान बनाएका हुन् । कुशल दीपेन्द्र र रोहितले जम्मा १६ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि अर्का ब्याट्सम्यान रोहित पौडेलले पनि ६१ रन जोडे । अब नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ । नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया