सरकारले मधेशी जनतालाई अन्याय ग-यो, अब फेरि संघर्ष गर्छौं  : राजेन्द्र महतो

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई गरेको समर्थन फिर्ता लिएको छ । 

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा राजपा नेता राजेन्द्र महतोले आफूहरुसँग गरेको सहमति अनुसार सरकारले काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका हुन् । 

बुधवार कैलाली जिल्ला अदालतले टिकापुर घटनाको मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै पार्टी कार्यालय बबरमहलमा आकस्मिक बैठक बोलाएको राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

अध्यक्ष मण्डलका सदस्य सरदसिंह भण्डारी, महेन्द्रराय यादवसहित विराटनगरको विमानस्थल पुगेका महताले फैसलाको विरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।

उनले भन्यो, ‘सरकारले मधेशी जनतालाई अन्याय गर्यो, रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको विरोध गर्छौं, राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैदको फैसला हुनु गलत हो ।’

यसैगरी राजपा अध्यक्ष मण्डलका अर्का नेता सरदसिंह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले बेवास्ता गरेका कारण समर्थन फिर्ता लिएको र संघर्षमा उत्रिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?