कोरी वालेसलाई अन्तर्राष्ट्रिय माउन्टेन बाइकको उपाधि

स्याङ्जा । स्याङ्जाको वालिङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पारेका छन् । 

एक सय किलोमिटरको दूरी कोरीले ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरे । टाइटलतर्फ पहिलो भएका कोरीले पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यता महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पहिलो भइन । उनले तीन लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी प्रतियोगितामा आठ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङ दोस्रो भइन ।

 दोस्रो भएसँगै गुरुङले ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गप्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हासिल गरेर क्रमशः एक लाख ५० हजार, ५० हजार र ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको घोषणासभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । 

टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी कोरी वालेसले आफू सहभागी भएको प्रतियोगितामध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको र यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए । 

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए ।

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?