ठेकेदारले उखेले दिपायलका सौर्यबत्ती

दिपायल। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न थालेका छन् । 

आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न शुरु गरेका हुन् । 

पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये सात बत्ती झिक्न लागेको मनिङसन कम्पनीका ठेकेदार वेदप्रकाश कठायतले बताए । उनले, ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका सात बत्तीको सात लाख लामो समय बित्दा पनि नदिएपछि झिक्न थालेका हौँ ।’

दिपायल सिलगढी नगरपालिकाका कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनीसँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न कठिन भएकाले रकम नदिएको नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, ‘समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिइएनन्, अहिले हामीसँग रकम छैन, कहाँबाट दिने ।’

जिल्ला उद्योग वाणिज्य सङ्घसँग २०७३ फागुन १७ मा नगरपालिकाले ३० लाखमा ३० पोलमा सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि सङ्घले उक्त काम २०७३ फागुन ६ गते मनिङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । 

कम्पनीले काम गरेवापत दुई पटकको किस्ता गरी २३ लाख भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग वाणिज्य सङ्घलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए । ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका बासिन्दा दुःखी हुन थालेका स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने, ‘बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।’ 

निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने नियमसङ्गतको रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।’ सौर्यबत्तीका कारण रातिको समयमा झिलिमिली हुने प्रमुख व्यापारिक केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?