काठमाडौं । १७ औँ क्रस कन्ट्री तथा नवौं डाउन हिल च्याम्पियनसिप चैत पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नेपाल साइक्लिङ संघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप चैत १ र २ गते काठमाडौं गोकर्णेश्वरमा हुने जानकारी गराएको हो ।
च्याम्पियनसिप दुई विधा क्रस कन्ट्री र डाउ हिलमा हुनेछ । क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष र महिला समूह र मास्टर पुरुष समूहले १२ पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै डाउनहिलतर्फ इलिट पुरुष समूह, महिला समूह र जुनियर पुरुष समूहका खेलाडीहरुले ९ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दुई विधामा हुने च्याम्पियनसिपमा क्रस कन्ट्रीतर्फ ६५ जना र डाउनहिलमा ३० जना गरी करिव ९५ जनाको सहभागिता रहने संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले जानकारी गराए ।
च्याम्पियनसिपको पुरुष र महिलाको शीर्ष दुईजनाले भारतको उत्तराखण्डमा आयोजना हुने च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने संघका अध्यक्ष कक्षपतिले बताए ।
क्रस कन्ट्रीमा एक ल्याब बराबर ३ दशमलब ५ किलोमिटरको दुरी रहने छ । च्याम्पियनसिप तारकेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्तिपार्क जगडोलमा आयोजना हुनेछ ।
च्याम्पियनसिपलाई गोकर्णेश्वर नगरपालिका, नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद, गोकणेश्वर साइक्लिङ संघ र पर्वतीय खेलकुद महासंघलगायतले सहयोग गरेको छ । क्रस कन्ट्रीतर्फ पुरुषमा बुद्धि बमहादर तामाङ र महिलामा लक्ष्मी मगर नेपाल च्याम्पियन हुन् । डाउन हिलमा राजेश मगर र निश्पा श्रेष्ठ नेपाली च्याम्पियन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया