काठमाडौं । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गरेको छ। आक्रमणबाट कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको इजरायलको एम्बुलेन्स सेवाले पुष्टि गरेको छ।
द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्। हमासले रकेटबाट पनि आक्रमण गरेको छ।
आक्रमणबाट सयौँ मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो।
अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन्।
उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन्।
इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ। हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए।
उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए।
इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ। हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया