दुई विकास बैंकको एकता प्रकिया शुरु

बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रकियाथालेका छन् । 

बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको हो । 

साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति ‘एक्विजिशन’ सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो । 

एकतापछि पनि एकीकृत बैंकको नाम भने ‘साइन रेसुङ्गा डेवलपमेन्ट बैंक लिमिटेड’ राख्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । साथै एकतापछि साइन रेसुङ्गा डेवलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिने छ । 

साइन रेसुङ्गाको एक अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको र ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुङ्गाको निक्षेप १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ साइनको १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको तीन अर्ब चार करोड ६७ लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् । 

यसअघि साइन रेसुङ्गा बैंकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो । 

यस क्षेत्रका १० जिल्लामा कार्यक्षत्र रहेको साइन रेसुङ्गा र तीन जिल्लामा मात्र कार्यक्षेत्र रहेको पूर्णिमाबीच एकता भएसँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैंक सञ्चालकले लिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?