बाटैमा छुट्यो जिन्दगीको रथ …अलबिदा एकता अधिकारी !

आइतवार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घटनामा गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारीको मृत्यु भयो । एकता अधिकारीसँगै विमानमा यात्रारत चालक दलका ८ सदस्यसहित सबै १ सय ५७ जनाको निधन भयो ।

 

संझनामा एकता ….
गोरखाको क्षेपेटारमा जन्मेकी २७ वर्षीया एकता पढाईमा निकै अब्बल थिइन् ।  एसएलसी सकीएपछि विज्ञान संकायमा अध्ययन गरेकी उनी पछि व्यवस्थापन संकायमा भर्ना भएकी थिईन् ।  स्नातक तहको अध्ययन पूरा गरी बेलायतको उत्कृट विश्वविद्यायालयबाट स्नातकोत्तर गरिकी हाल संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन् एकता ।  

२०७२ सालको महाभुकम्पको दुई दिन अगाडी एकता बेलायतबाट नेपाल आएकी थिईन् । लगत्तै एक हप्तामा उनीले संयुक्त राष्ट्र संघमा काम गर्न थालेको एकताको दिदी (मामाको छोरी) मेनुका रोकाले लोकपथसँग बताईन् । 

“एकता नेपाल नआएको पनि एक वर्ष भएको थियो तर पछि उसको बुबाआमाको अमेरीकाको भिसा लागेपछि आएको थिइन्” रोकाले थपिन्, “दिदिभिनाजु (एकताको बुबाआमा) अमेरिका गएको १५ दिन मात्र भयो ।” 

डब्लुएफपीमा कार्यरत एकता १५ दिन अगाडी दुई दिनको लागि नेपाल आएकी थिइन् रोकाले भनिन्, “आमाबुबालाई भेट्नलाई आएको जस्तो मात्र भयो ।”

एकताको दुईजना दिदी (एलिना, इला) र एकजना भाई छन् । दुई दिदीको विवाह भइसकेको छ भने उनीहरु हाल अमेरिकामा बस्दै आएका छन् । भाई भने नेपालमै नै बस्दै आएका छन् । 

टमबोइ व्यक्तित्व, जुनकुकै टाक्स पनि सक्रियतापूर्वक सम्पन्न गर्न सक्ने क्षमता भएकी एकता ऊर्जावान, प्रतिभाशाली र घुमघाममा विशेष चाख राख्ने स्वभावकी थिईन् । 

बाटैमा छुट्यो जीन्दगीको रथ  ! 

विमानमा चढ्नुअघि एकताले केन्याको झण्डासहित फेसबुकमा 'स्टोरी' पोस्ट गरेकी थिइन्। 

२४ घण्टापछि अटोमेटिक हराउने त्यो स्टोरीमा न्यू स्टोरी थप्न पाईनन् उनले । उनको अबको गन्तव्य केन्या हुन सकेन । बाटैमा छुट्यो जीन्दगीको रथ ।   

उडेको केही समयपछि विमान सम्पर्कविहनि भयो । खबरहरुले आफन्तका मनमा आँधीबेहरी ल्याईसकेको थियो ।  केही समयपछि मिडियाले ब्रेकिङ न्यूज दिईरहे । विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, विमानमा सवार १ सय ५७ जनाको मृत्यु ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुने बित्तिकै नेपालमै रहेकी रोकालाई शंका लाग्यो । होला कि हैन होला भन्ने विचारहरुको भिडन्तले मन स्थिर भएन । दुखद घटना सुन्न नपरोस् भनेर 'प्रे' गरेकी उनले सुनाईन्, “इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाको समाचार आउने बित्तिकै मनमा चिसो त पसेको थियो पछि  “एकजना नेपालीको रहेको भन्ने बित्तिकै एकता नै हो भनेर 'स्योर' थिए ।” 

***

मेनुका एकता भन्दा दुई महिनाले मात्र दिदी भएकाले पनि उनीहरु दिदीबहिनी भन्दा पनि धेरै साथी थिए मेनुका सम्झिन्छीन्, “म्यासेन्जरमा दिन दिनै कुरा हुन्थ्यो ।” 

रोका आफू कन्र्फम भएतापनि चुप रहिन् । आइतवार राती यूएनको ट्वीटरमार्फत आधिकारीक जानकारी आएपछि उनी सम्हालिन सकिनन् ।

रोका अहिले बाँकी विवरणको प्रतिक्षामा यूएनको सम्पर्कमा छिन् । 

विमान दुर्घटनामा ज्यान गुमाएका सबैको शरीर जलेको छ । रोकाले यूएनको भनाई उदृद गर्दै भनिन्, मृतकहरुको डिएनए परिक्षण अन्तिम चरणमा रहेको जानकारी आएको छ । 
अमेरिकामा रहेका एकताको बुबा काजीबाबु अधिकारी र  आमा सुनिता अधिकारीसँग भने मेनुकाको सम्पर्क हुन सकेको छैन । 

एकता सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन् । झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन् । एकता आइतवार नैरोबीको एजेन्सीको बैठकमा भाग लिनको नैरोवी उडेकी थिइन् । 

संयुक्त राष्ट्र संघका अनुसार उक्त दुर्घटनामा १९ जना कर्मचारीको मृत्यु भएको छ ।  विश्व खाद्य कार्यक्रमका ७ कर्मचारी, अफगानिस्तानमा उच्चायुक्त कार्यालयको अन्तर्राष्ट्रिय दूरसंचार संघका दुई कर्मचारी संघले गुमाएको छ ।  

खाद्य र कृषि संगठन (एफएओ) र सूडानमा प्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन, विश्व बैंक र सोमालियाका संयुक्त राष्ट्रसंघको सहयोग मिशन ९युएनएसओम०का  प्रत्येक एक जानको मृत्यु भयो । नैरोवीको संयुक्त अफिसबाट ६ जना कर्मचारीहरु पनि दुर्घटनामा ज्यान गुमाए । 

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको इथियोपियाली विमानका आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको थियो ।   

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ : ३८ मा उक्त विमान उडेको थियो ।

 विमान उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले  आइतवार नै विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।  

विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । 

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । 

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । 

इथियोपियन एयरलाइन्सले मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको बताएको छ ।

 दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

जो प्लेन छुटेर बाँचे….!

यतिबेला समाजिक सञ्जालमा जितेन्द्र जिसीलाई बधाई र नयाँ जीवनको शुभकामना भन्नेहरुको भिड लागेको छ । संयोगले बाँचेका एक नेपालीको फेसबुक पोष्टले सबैलाई आश्चर्य चकित तुल्याएको छ । 


केन्याको नैरोबीमा (११ मार्च) देखि शुक्रबारसम्म हुने युएन इन्भायरोमेन्ट एसेम्बलीको चौथो सेसनमा  सहभागी हुन काठमाडौँबाट साझा फाउन्डेसनका अध्यक्ष जितेन्द्र जिसी इथियोपियन एयरलाइन्सको बोइङ ७३७९८ म्याक्स विमान मा नैरोबी जाने निश्चित भएको थियो तर संयोग भन्नुपर्छ, उनको विमान छुट्यो।

जिसी आफैँ झसंग त्यतिबेला बने जतिबेला आफूले छुटाएको प्लेन क्रयास भयो र त्यसमा सवार सबै एक सय ५७ जनाको निधन भयो भन्ने समाचार आयो। दुर्घटनापछि उनलाई चिनेजानेका र उनी कार्यक्रममा भाग लिन जाँदैछन् भन्ने थाहा भएका आफन्तले चिन्ता गर्दै लगातार म्यासेज गरे, खोजखबर गरे र सम्पर्क गरिरहे । 

उनले फेसबुकमा लेखेका छन्, म नेपाल मै छु, ठीक छु। कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो विमानमा हुनुपर्ने थियो। म आफ्नै कारणले (आउन नसक्ने) लास्ट आवर मा आयोजकलाई जानकारी गराएको थिएँ। जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिएँ म अर्को पटक बाँचे।

उनको स्टाटसमा कमेन्टमार्फत् नयाँ जीवनको शुभकामना ओईरो लागेको छ । 

विमान दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको त्यहाँका अधिकारीलाई उदृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका  छन् । 

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धान्जली  । शोकाकुल परिवारप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होओस् । _सबै तस्वीरहरु : गुगलबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?