महिला साफ च्याम्पियनसिप : नेपाली टिम शारीरिक र मानसिक रुपमै फिट : प्रशिक्षक खड्का

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोली ‘मंगलवार’देखि विराटनगरमा शुरु हुँदैछ । 

शहिद रंगशालामा हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । प्रतियोगिता शुरु हुनु पुर्वसन्ध्यामा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीहरु शारीरिक तथा मानसिक रुपमा बलियो रहेको बताएका छन् । 

‘हामीहरु शारीरिक र मानसिक दुवै रुपमा फिट छौँ, खेलाडीहरुको मनोबल पनि उच्च नै छ, हामीहरु पहिले समूह चरणको खेलमा विशेष ध्यान दिनेछौँ’, उनले भने । साथै प्रशिक्षक खड्काले हामीसँगै राम्रो खेलाडी भएको पनि बताए ।

‘नेपाली टिमको खेलाडीहरु सबै एकसे एक छन्, सबै टिमलाई उत्तिकै सम्मान पनि गछौँ, खेलमा हामीहरु अन्य टिमलाई हलुका रुपमा लिने छैनौं, साबित्रा भण्डारी हाम्रो टिमको प्रमुख खेलाडी हुन्, उनले यो प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्नेमा  म आशावादी छु, हाम्रो पहिलो लक्ष्य भनेको नै समूह चरण पार गर्नु हो ।’ उनले लोकपथलाई बताए । 

पछिल्लो समय ठेउलाको संक्रमणले सावित्रा अस्पतालमा भर्ना भएकी थिईन् । तर, अहिले उनी पूर्णरुपमा फिट छिन् । 

सबै क्षेत्रबाट महिला टिमले साथ र सहयोग पाएकोले यसपालीको ‘साफ’ च्याम्पियनसिपको उपाधि जित्ने दावी समेत गरेका छन् ।

प्रशिक्षक खड्काले भने, ‘महिला खेलाडीहरुले यहि प्रतियोगितालाई मध्यनजरमा राख्दै मेहेनत गरेका छन्, मैले पनि नेपाललाई ‘साफ’ च्याम्पियन बनाउन त्यतिकै कडा परिश्रम गरेको छु, यो नै हाम्रो लागि उपाधि जित्दै नयाँ इतिहास बनाउने अवसर पनि हो ।’ 

साथै उनले मंगलवार हुने भुटानविरुद्धको खेलमा पनि नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त रहेको पनि बताए । ‘नेपाल र भारतबीच फाइनल भिडन्त हुन सक्छ, नेपाली टिममा भारतलाई हराउने भोक अहिले पनि छ’, उनले थपे । 

यता नेपाली टिमकी कप्तान निरु थापाले ‘साफ’ च्याम्पियनसिप खेल्न नेपाली तयार रहेको बताएकी छिन् । उनले भनिन्, ‘हामीहरु आफ्नो घरेलु मैदानमा खेल खेल्दैछौँ, घरेलु समर्थकहरुको अगाडि हामीहरु मैदानमा उत्रने तयारीमा छौँ, सबैबाट साथ र सहयोग पाएका छौँ, आशा गरौं साफको उपाधि हामीले नै उचाल्ने छौँ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?