काठमाडौं । विभागिय क्लब त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
डोमालाल राजवंशी रंगशालामा सोमवार भएको फाइनल खेलमा आर्मी क्लबले आयोजक झापा एघारलाई ५-३ गोल अन्तरले पराजित गर्दै उपाधि आफुनो पोल्टामा पारेको हो ।
खेलको पहिलो हाफसम्म आर्मी क्लबले २-१ गोलको अग्रता लिएको थियो । खेलको २५ औँ मिनेटमा आर्मीका लागि सन्तोष तामाङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ३२ औँ मिनेटमा कप्तान भरत खवासले गोल गरे ।
४३ औँ मिनेटमा झापाका फ्रान्सिसले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । प्रतिस्पर्धात्मक बनेको खेलको ५३ औँ मिनेटमा झापाका लागि योगेश गुरुङले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यस्तै ७५ औँ मिनेटमा आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरे । ८३ औँ मिनेटमा पुनः श्रेष्ठले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौंथो गोल गरे । खेल सकिनै लाग्दा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेपछि झापा स्तब्ध बनेको थियो ।
आयोजक झापा लगातार चौंथो पटक फाइनलमा पुग्दै उपाधि जित्नबाट वञ्चित बनेको हो । साविक विजेता समेत रहेको आर्मीले उपाधिसँगै १२ लाख ५५ हजार रुपैयाँ जितेको छ । त्यस्तै उपविजेता बनेको झापा एघारले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया