तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् ।
विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनले अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् ।
विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती गरेका उनले अहिले बारीबाटै गोलभेँडा खोसाखोस हुन थालेपछि खेती विस्तारको अभियानमा लागेका छन् । उनले भने, ‘शुरुवाती चरण भएकाले धेरै गोलभेँडा लगाएको थिइनँ, अहिले गाउँमै गोलभेँडाको माग बढी भएपछि गोलभेँडा खेती विस्तार गर्ने तयारी गरेको छु ।’
गुरुङले बारीबाटै प्रतिकिलो ५० का दरले २ सय किलोभन्दा बढी गोलभेँडा बिक्री भएको बताए । ‘बारीमा गोलभेँडा पाक्न नपाउँदै हरेक दिन गाउँले किन्न आइहाल्छन्, ,गाउँलेलाई गोलभेँडा पु¥याउन पनि हम्मेहम्मे परिरहेको छ’, उनले थपे ।
उनले यस वर्ष सिर्जनशील जातको गोलभेँडा २ सय बोट मात्र लगाएका छन् । पहिलोपटकको खेती भएकाले परीक्षणको लागि थोरै मात्र गोलभेँडा लगाएको उनले बताए । ‘बजार र आम्दानीको सुनिश्चितता नभएकाले त्यति धेरै गोलभेँडा लगाइनँ, माग उच्च भयो, अब विस्तार गर्दैछु’, गुरुङले भने ।
गाउँमै गोलभेँडा खोसाखोस हुन थालेपछि उत्साहितबनेका गुरुङले अर्को याममा गोलभेँडा खेतीलाई थप विस्तार गर्ने योजना बताएका छन् । उनी चारपटक वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुगिसेका छन् ।
विदेशमा गएर केही उपलब्धि नभएपछि गाउँमै परिश्रम गर्ने उद्देश्यसहित फर्किएका हुन् । गरुङले बाख्रापालनसमेत थालेका छन् । विदेश जानुभन्दा गाउँमै सानो लगानी र कम जोखिममा तरकारी खेती र बाख्रापालन गर्नु उत्तम भएको उनको भनाइ छ ।
गुरुङले स्थानीय जातका २० बाख्रा पालेका छन् । शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले गाउँमा उद्यमशील बन्न चाहने युवालाई वडा कार्यालयले सहयोग गर्ने बताए । सबै युवा गुरुङले जस्तै सकारात्मक सोच राखेर गाउँमा नै उत्पादनमूलक काममा लाग्ने हो भने देश समृद्ध बन्न धेरै समय नलाग्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया