भद्रगोलको ‘पाँडे’ चरित्रप्रति ‘पाँडे समाज’को विरोध

काठमाडौं । 'पाँडे' चरित्रप्रति विरोध जनाउँदै हालै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले मिडिया हबलाई पत्र पठाएको छ । 

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला हो भद्रगोल र एक प्रमुख र प्रभावशाली पात्र हुन् ‘पाँडे’ । 

तर, उक्त चरित्रप्रति विरोध जनाउँदै कार्यक्रम उत्पादक मिडिया हबमा पत्र पठाएका छ नेपाल पाँडे समाजले । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको पत्रमा उल्लेख गरिएको छ । 

पत्रमा लेखिएको छ , ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्र नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?