खलङ्गामा नियमित विद्युत् आपूर्ति

सिञ्जा । बिजुली नहुँदा लामो समयसम्म अन्धकार बनेको जुम्ला सदरमुकाम खलङ्गा उज्यालिएको छ । आयोजना शुरु भएको ३५ वर्षमा नयाँ उपकरण जडान गरेपछि अहिले खलङ्गामा नियमित विद्युत् आपूर्ति भएको छ । 

भारतीय राजदूतावासको सहयोगमा दुई करोड ६३ लाख ७७ हजार, साना जलविद्युत् उपभोक्ता समितिको ४२ लाख २२ हजार तथा जिल्ला समन्वय समितिको प्राविधिक सहयोगमा नयाँ उपकरण फेरिएको हो ।

वि.सं २०४० माघ २० गते तत्कालीन यातायात तथा जलस्रोतमन्त्री हरिचन्द्र महतको पहलमा तत्कालीन राजा वीरेन्द्रले साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका थिए ।  दुई सय २० किलोवाट क्षमताको सो आयोजनाको क्षमतामा विस्तारै ह्रास हुँदै गएको थियो । 

उपभोक्ताको सङ्ख्या बढ्दै गएपछि सदरमुकाममा दैनिक बिजुली आपूर्तिमा समस्या भएको थियो । भारतीय दूतावासको सहयोगमा ११० केभीको उपकरण जडान गरिएको हो । अहिले १३० किलोवाट बिजुली उत्पादन भइरहेको छ ।

जिल्लाकै घुगुत्तीस्थित विद्युत् गहृमा चाँडै अर्को ११० केभी क्षमताको उपकरण जडान गरिने भएको छ । सो उपकरण जडान गरिएमा २६० किलोवाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । 

चन्दननाथ नगरपालिकाको सबै स्थानमा बिजुली बाल्न सकिने साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । उपकरण जडान गर्न भारतबाट सात जनाको प्राविधिक टोली आएको छ । 

व्यापार घट्दै 

जुम्ला बजारमा व्यापार घट्दै गएको व्यापारीले बताएका छन् । देश सङ्घीय संरचनामा प्रवेश गरेसँगै व्यापारमा ह्रास आएको हो । लामो समयदेखि व्यवसाय गर्दै आएका जयलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक पूर्णकली कठायत सामान खरीदकर्ताको सङ्ख्या घट्दै गएको बताए ।  “गत वर्ष दैनिक ३० हजार सम्मको व्यापार हुन्थ्यो”, उनले भने, “अहिले दैनिक पाँच हजारमा चित बुझाउनु परेको छ ।” 

वि.सं २०५५ देखि फेन्सी पसल सञ्चालन गर्दै आएका लालबहादुर भण्डारी अहिले भाडा उठाउन कठिन भएको बताए ।

“मासिक १६ हजार भाडा तिर्नुपर्छ”, उनले भने, “छोराछोरीको पढाइखर्च र घरखर्च जुटाउन सास्ती भएको छ ।” सम्पूर्ण सरकारी कार्यालय गाउँस्तरमा जानु र सबै नागरिकको सूचना प्रवाह कामकारवाही घरदैलोमै हुने भएकाले व्यापार व्यवसाय खस्कदै गएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?